Saturday, January 18, 2025
Home > मुख्य समाचार > अनुगमनमा गएको टोलीलाई औषधि ब्यवसायीले थुने

अनुगमनमा गएको टोलीलाई औषधि ब्यवसायीले थुने

इनरुवा, ८ साउन । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका ब्यापारीले थुनेका छन् ।
मेडिकल पसल संचालक सहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन ।

गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा बिवाद चर्केपछि मेडिकल संचालक तथा व्यवसायी सहितका ब्यापारी आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोली उपर हातपातको प्रयास हुनुका साथै दुव्र्यवहार र नाराबाजी चर्किएपछि तनावपूर्ण बनेको अवस्था नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गर्नु परेको थियो । औषधि व्यवसायी र ब्यापारीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनगुमन टोलीलाई प्रहरीले सुरक्षामा प्रशासन सम्म पुर्याइएको थियो । सो पश्चात समेत ब्यापारी समूहले बजार क्षेत्रमा प्रर्दशन जारी राखे । उनीहरुले औषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् । प्रर्दशनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका संचालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीमाथि प्रश्न उठाउँदै आन्दोलनमा उत्रनु परेको प्रतिकृया दिनुभयो । उहाँले अनुगमनमा सहभागि जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देबराज घिमिरे घटनाको कारक भएको बताउनुभयो ।

उता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिकृया दिनु भएको छ । उहाँले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताउनु भयो । खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधी पसलहरु मापदण्ड विपरित संचालनमा रहेको पाइएकाले पूनः अनुगमन गरी कारवाहीको प्रकृयामा ल्याउने बताउनु भयो । यता घटना पश्चात जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानविन गरी दोषी उपर कार्वाही थाल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *