Saturday, January 18, 2025

काठमाण्डौ १९ असोज
राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई हिजो राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ ।
काठमाडौमा हिजो एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताउनुभयो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । सदस्य सचिव सिलवालले पूर्व तथा वर्तमा खेलाडी र प्रशिक्षकहरुको बीमा गर्न सके सहयोगबाट बञ्चित हुने अवस्था नआउने बताउनुभयो । हिजो बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदानगरिएको छ । तीनैलाई घुडाको समस्या छ । राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । २०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ । यस अघि कोषले २०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान १–१ का दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *