Saturday, January 18, 2025
Home > मुख्य समाचार > ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा

८ लाख ४७ हजार नेपालीको कोरोना बीमा

काठमाण्डौ १५ भाद्र
बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ ।
बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताउनुभयो । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो । बीमा समितिले वैशाख ४ गते देखि कोरोना भाइरस (कोभिड–१९) बीमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो । समितिले दुई श्रेणीको बीमाङ्क रकम कायम गरी बीमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो । त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिदा अहिले १ लाख रुपैयाँको बीमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ । सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताउनुभयो । त्यस्तै अहिले सम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उहाँले बताउनुभयो । त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताउनुभयो । अहिलेको कोरोना बीमालेख एकपटकका लागि मात्रै भएको पनि अध्यक्ष चापागाईंले स्पस्ट पार्नुभएको छ । एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरी कोरोना बीमा गर्न सक्ने व्यवस्था अहिले नरहेको उहाँले बताउनुभयो । अहिलेको व्यवस्था अनुसार बीमा कम्पनीलाई कोरोना बीमाको कुनैपनि दायित्व नपर्ने पनि अध्यक्ष चापागाईंले बताउनुभयो । उहाँले बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ सम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *