एजेन्सी १५ भारत
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । लखनउमा हिजो अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो । न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी ‘कार सेवकहरू’ ले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए । त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ ।