Saturday, January 18, 2025
Home > मुख्य समाचार > स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मात्र यसपटकको दशैं मनाउन समाजका अगुवाहरुको सुझाव

स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मात्र यसपटकको दशैं मनाउन समाजका अगुवाहरुको सुझाव

विराटनगर ५ कात्तिक
स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र यसपटकको दसैं मनाउनुपर्ने सामाजिक तथा राजनीतिक अगुवाहरुले बताएका छन् । प्रविधिको प्रयोगबाट शुभकामना आदानप्रदान गर्दै संक्रमणको जोखिमबाट बच्न उनीहरुले सुझाव दिएका छन् । कोरोना संक्रमणले सिंगो विश्वसहित आमनेपालीलाई आहत बनाइरहेको समयमै यसपटकको दसैं सुरु भएको छ । जसका कारण निकै हर्षोल्लासपूर्वक मनाइने दसैंको परम्परामा समेत आघात पुगेको छ । भीडभाड नहोस् भनेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्था छ भने मन्दिरहरुमा सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ । बिषम परिस्थितिका कारण यसपटक आन्तरिकरुपमा पूजापाठबाहेकका कुनै पनि सार्वजनिक कार्यक्रमहरु संचालन नगर्ने मन्दिर व्यवस्थापन समितिहरुले यसअघि नै निर्णय सार्वजनिक गरिसकेका छन् । दशैं आउनु अगावैदेखि दशैंको रौनक सुरु हुने र त्यसमा रमाउने अवस्थाले समेत यसपटक निरन्तरता पाउन सकेको छैन । कारण हो विश्वब्यापी महामारी कोभिड–१९ । यद्यपि जेजस्तो अवस्था भए पनि सर्वसाधारणले यसपटक घरघरमैं जमरा राख्दै दसैंको विधिविधान शुरु गरेका छन् । यसपटक अवस्था प्रतिकूल रहेकाले अवस्थाको गाम्भिर्यतालाई बुझेर घरघरमैं सुरक्षितरुपमा दसैं मनाउनु नै बुद्धमानी हुने १ नम्बर प्रदेशसभाका सांसद चुमनारायण तवदारको भनाई छ । हजारौं नेपालीलाई कोरोनाले संक्रमित बनाइसकेका कारण आम सर्वसधारणमा त्यसको भय व्याप्त छ । अधिकांशमा संक्रमणको त्रास भए पनि कतिपय ब्यक्ति अझ पनि लापरबाही गरिरहेको सडक तथा बजारहरुमा देख्न सकिन्छ । विषम परिस्थितिलाई गम्भीरतापूर्वक नलिए अवस्था झन् जटिल हुनसक्ने भएकाले सुरक्षितरुपमा दसैं मनाउनुपर्ने सामाजिक अभियन्ता गंगाप्रसाद यादवले बताउनुभयो । आधुनिक संचार प्रविधिको प्रयोगबाट घरघरमैं बसेर मान्यजनबाट वडादसैंको आर्शिवाद थाप्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय समुदायस्तरमैं कोरोना फैलिएपछि दिनदिनै नयाँ रेकर्ड बनाउँदैं समाजका सबै वर्गलाई ग्रस्त बनाउँदै गएको छ । यस्तो अवस्थामा कोरोना संक्रमणबाट जोगिन जारी रहेको दसैं र आसन्न चाडपर्वमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई अपाउनु नै सबैका लागि हितकारी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *