Saturday, January 18, 2025
Home > आर्थिक समाचार > स्थानीयस्तरमा लाग्ने हाटबजार कोरोनाको त्रासका कारण पूर्ण रुपमा सञ्चालन नहुँदा कृषकहरु मारमा

स्थानीयस्तरमा लाग्ने हाटबजार कोरोनाको त्रासका कारण पूर्ण रुपमा सञ्चालन नहुँदा कृषकहरु मारमा

लेटाङ मोरङ ५ असोज

सधै भिडभाड देखिने उत्तरी मोरङको लेटाङ बजार लामो समय पछि सामान्य अवस्थामा आउदै गरेको देखिए पनि कारोनाको त्रास कायमै रहँदा अझै पनि सुनसानजस्तै देखिन्छ । लेटाङ बजारले एउटा लामो इतिहास बोकेको छ । लेटाङ बजार पहिले चिसाङ खोलादेखि पश्चिममा लाग्दथ्यो । पुरानो बजार भएको ठाउँलाई बाढीले बगाए पछि २०२१ साल देखि यो ठाउँमा बजार लाग्न थालेको हो । २१ सालदेखि अहिसम्म पनि नियमित रुपमा बजार लाग्दै आएको छ । लेटाङ विशेष गरेर कृषिजन्य उत्पादन विक्री हुने बजारका लागि चर्चित रहेको छ । शुद्ध अर्गानिक तरकारी हरिया र ताजा पाईने हुनाले पनि यहाँको सब्जी देशभरी पुग्ने गर्दछ ।चिसाङको बगरमै आफ्नो बाल्यकाल व्यतित गरेका र लेटाङ बजारको इतिहास राम्ररी बुझेका लेटाङ नगरपालिका वडा न ६ खेरुवाका भवानी आचार्य यसरी यति लामो समयसम्म बजार ठप्प भएको आफ्ना लागि यो नै पहिलो घटना भएको बताउनुहुन्छ । लेटाङ पहाडी बजार भएको, बाहिरबाटै व्यापारी आएर सामान खरिद गरेर लैजाने बजार भएपनि लामो समससम्म लकडाउन हुँदा यहाँको व्यपार व्यवसाय चौपट्ट भएको छ । त्यसमा पनि किसानका उत्पादनहरु बारी बारीमै कुहिएर खेर गएको लेटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्गमान श्रेष्ठले बताउनुभयो । पहाडको फेदीमा रहेको यो बजारका ग्राहक भनेका तराईतिरबाट आउने मानिस नै हुन । माथिका मानिसले बजारमा ल्याउने र तलबाट गएका व्यापारीहरुले सामान खरिद गर्ने गर्छन । तर कोरोनाको त्रास कायमै रहँदा मानिस स्वतस्फुर्त रुपमा आउन सक्ने अवस्था देखिदैन । त्यसो त लकडाउन खोले पनि राज्यले बढी भिडभाड हुने स्थाल (हाटबजार) खोल्ने अनुमति दिएको छैन । जसले गर्दा पनि लेटाङ बजार सुनसान रहेको स्थानीयवासी बताउँछन् । बाहिरका व्यापारी नआए पनि सामनको मुल्य भने पहिलाको भन्दा धेरै बढेको सुन्दरहरैचाबाट आएका मासु व्यवसायी ईश्वरी कार्कीले बताउनुभयो । गत वर्ष ३५,४० हजार पर्ने खसीलाई आफूले अहिले ४९ हजार हालेर ल्याएको उहाँले बताउनुभयो । जनताको दवाव धान्न नसकेपछि आर्थिक चलायमान बनाउन राज्यले लकडाउन त खोल्यो तर मानिस भिडभाड हुने हाटबजारलाई खोल्न अनुमति दिएको छैन । तर यहाँका स्थानीय भने रोगलेभन्दा भोकले मर्ने बेला भएकोले सुरक्षाका मापदण्ढ अपनाएरै भएपनि बजार खोल्न दिनु पर्ने बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *