Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारले सांसदकालागि उपलब्ध गराएको दशैं भत्ता सरकारलाई नै फिर्ता गर्ने नेकपा र कांग्रेसको निर्णय

सरकारले सांसदकालागि उपलब्ध गराएको दशैं भत्ता सरकारलाई नै फिर्ता गर्ने नेकपा र कांग्रेसको निर्णय

काठमाण्डौ ४ कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताउनुभयो । यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो । बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ । सांसदहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए । यस्तै हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको थियो । कांग्रेसले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१० रुपैयाँ रकम संघीय संसदमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति प्रकाशित गर्दै अहिलेको असहज अवस्थामा राज्यलाई सहयोग गर्नु प्रमुख दायित्व भएकाले दसैं भत्ता संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको जनाउनुभएको छ । कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम् परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराइएको भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *