Friday, November 22, 2024
Home > आर्थिक समाचार > सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई नेपाल आउन दिने भने पनि पर्यटकहरु सोधपुछमा मात्रै सीमित

सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई नेपाल आउन दिने भने पनि पर्यटकहरु सोधपुछमा मात्रै सीमित

काठमाण्डौ २४ असोज

सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भने पनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा कुनैपनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैलेपनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिदैन् । पर्यटन व्यवसायी सुदर्शन नेपालका अनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र र्याफ्टीङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको बताउनुभयो । खासगरी नेपालमा कोभिड संक्रमणको लागि के कस्ता मापदण्ड छन भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफुहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताउनुभयो । आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोपुछ गरिरहेको बताउनुभयो । संसारभर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उहाँले बताउनुभयो । तर अहिलेसम्म कुनै पनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले बताउनुभयो । पर्यटकहरुले नेपाल आउन सोधखोज गरीरहे पनि आफुहरुले सरकारी मापदण्डका कारण चित्तबुझ्दो जवाफ दिन नसकेको व्यवसायीहरुको भनाई छ । तरपनि सरकारले तोकेको मापदण्ड पालना गरेर पर्यटकलाई सेवा दिन आफुहरु तयार रहेको पनि व्यवसायीहरु बताउँछन् । खासगरी पदयात्रा, पर्वतारोहण र र्याफ्टीङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुने गरी पर्यटकलाई सेवा दिन सकिने पनि व्यवसायीहरु बताउँछन् । कोभिडले थला परेको पर्यटन क्षेत्रमा लकडाउन खुलेसँगै नयाँ उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरेपनि सरकारी मापदण्डका कारण पर्यटक नआउँदा भने व्यवसायीहरु निराश देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *