Saturday, January 18, 2025
Home > मुख्य समाचार > समाजका शिक्षित व्यक्तिहरुले नै आफुहरुलाई अपराधीको जस्तो व्यवहार गरेको कोरोना संक्रमणबाट मुक्त भएकाहरुको गुनासो

समाजका शिक्षित व्यक्तिहरुले नै आफुहरुलाई अपराधीको जस्तो व्यवहार गरेको कोरोना संक्रमणबाट मुक्त भएकाहरुको गुनासो

 

विराटनगर १५ भाद्र

कोरोनामुक्त भएकाहरुले सामाजिक विभेदको शिकार बन्नु परेको गुनासो गरेका छन् । कोरोनालाई परास्त गरेका व्यक्तिहरुलाई हौसला दिनुको साटो उल्टै अपराधी नै जस्तो व्यवहार गर्ने गरेको उनीहरुको भनाइ छ । कोरोना संक्रमणमुक्त भएपनि समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको उनीहरूको गुनासो छ । विराटनगर–९ का पत्रकार दिनेश साहले कोरोेनामुक्त भएर घर फर्किएपछि समाजका शिक्षित मानिसहरुले नै असामाजिक व्यवहार गर्ने गरेको गुनासो गर्नुभयो । साहलाई साउन २५ गते गरेको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।  त्यसपछि उहाँ आइसोलेसनमा बस्नुभएको थियो । भदौ ७ गते पुनः गरेको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । साहमात्र हैन विराटनगर–३ पोखरीयाका सुजन दाहाललाई पनि साउन १४ गते गरेको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखियो । उनी मोरङको गोठगाउँस्थित आइसोलेसनमा बसेर कोरोनामुक्त भएर घर फर्किसकेका छन् । कोरोनामुक्त भएर घर फर्केपछि पनि समाजले आफूमाथि सामाजिक रुपमा राम्रो व्यवहार नगरेको दाहालको गुनासो छ । संक्रमितको घरको बाटै हिंड्न नहुने जस्तो व्यवहार समाजले गरेको दाहालले बताउनुभयो । दाहालको साउन २२ गते गरेको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएर कोरोनामुक्त भइसके पनि समाज संक्रमणमुक्त भएका व्यक्तिहरूसँगसमेत त्रसित हुने गरेको छ । संक्रमणमुक्त भएकाहरूले संक्रमितलाई आत्मबल प्रदान गर्न र संक्रमणमुक्त भइसकेकाहरूप्रति सकारात्मक व्यवहार गर्न अनुरोध गरेका छन् । नेपाल सरकार तथा विज्ञहरूले समेत संक्रमित र संक्रमणमुक्त भइसकेका व्यक्तिहरूलाई असामाजिक व्यवहार नगर्न बारम्बार आग्रह गरे पनि निको भइसकेका संक्रमितप्रति समाजले हेर्ने दृष्टिकोण अझै बदलिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *