Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुको आरोप

संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुको आरोप

काठमाण्डौ ८ असोज
संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यसअघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यसअघि विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् । समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका मन्त्रालय, विभाग तथा त्यसअन्तर्गतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भिर समिक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताउनुभयो । मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनै पनि अयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उहाँको भनाई छ । कुनैपनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताउनुभयो । उहाँले हुम्ला जिल्लामा कोभिडको असर नपरे पनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भिररुपमा निर्देशन दिनुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद केदार सिग्देलले कुनै पनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिले सम्म पनि कार्यान्वयन नभएको देखिएको बताउनुभयो । त्यस्तै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिले सम्मपनि कार्यान्वयन नभएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड १९ बाहना बनेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *