काठमाणडौ १६ पौष
सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताउनुभएको छ । आज विभिन्न पार्टी सम्बद्ध महिलासंघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको सम्बन्धमा आफूले यसअघि नै विज्ञप्ति निकालिसकेको र संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे परामर्श लिइरहेको बताउनुभएको हो । सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको विषयलाई समावेश गरेर अदालतमा उत्तर दिन लागेको समेत बताउनुभयो । सभामुख सापकोटाले संविधानको रक्षा, देश र जनताको हितमा सधैं समर्पित भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महिला संगठनहरुले बुझाएको ध्यानाकर्षणपत्रमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालीन अन्धकारको सुरुङभित्र धकेलिदिएको उल्लेख छ । उनीहरुले प्रतिनिधिसभा विघटनको घोषणा खारेज हुनुपर्ने मागसमेत गरेका छन् । प्रतिनिधिसभालाई पुनरस्थापना गर्न नसके अब बन्ने कुनै पनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधिसभा विघटन गर्ने नजीर रहने भन्दै महिला संगठनहरुले चिन्ता व्यक्त गरेका छन् । ज्ञापनपत्र बुझाउनेहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ, विवेकशिल साझा पार्टी निकट विवेकशील साझा महिला रहेका छन् ।
संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको सभामुख सापकोटाको भनाई
