Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुको माग

श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुको माग

काठमाण्डौ २६ असोअ
रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाउनुभएको हो । श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाका लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरु मारमा परेको गुनासो सचिव यादवले गर्नुभयो । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफुहरु आशावादि रहेको पनि किसानहरुको भनाई छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको गुनासो किसानहरुको छ ।  किसानहरुले आर्थिक वर्ष २०७१÷०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५÷०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६÷०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *