Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली

वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली

काठमाण्डौ २९ भाद्र
सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली भएको छ । सरकारले देशकै पूरानो अस्पताल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएपछि विगत ९ वर्षदेखि वीर अस्पतालमा रहेकी अधिकारीको विचल्ली भएको हो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा रहनुभएका उहाँलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न भनेको हो । पहिलो तलाको क्याबिन नम्बर ७ मा रहेकी अधिकारीले त्यहाँ कोभिडका विरामी बस्ने भएपछि क्याबिन खाली गर्नुपर्ने भएको हो । डाक्टरले कोभिडका विरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भन्दै नबस्न भनेकाले क्याबिन खाली गर्नुपरेको उहाँले बताउनुभयो । काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको उल्लेख गर्दै उहाँले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यही बस्ने बताउनुभएको छ । अस्पताल प्रशासनले भने राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको छ । अधिकारीले क्याबिन भएको ठाउँमा खोज्नुभएको तर ट्रमा सेन्टरमा क्याबिन नभएकाले अहिलेसम्म ठाउँको टुंगो लाग्न सकेको छैन । गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि अधिकारीलाई ट्रमा सेन्टरमा सार्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *