Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेन

विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेन

विराटनगर २५ कात्तिक
विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेको छैन । सीमा सिल गरिएको अवस्थामा समेत अवैधानिक बाटोबाट दैनिक सयौं मानिसहरु वारपार गरिरहेका छन । विराटनगर महानगरपालिका वडानम्बर १७ इश्लामपुरको नेपाल भारत सिमाक्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको पर्याप्त उपस्थिति छ । सुरक्षाकर्मीको बाक्लै उपस्थिति भएपनि दैनिक सयौंको संख्यामा मानिसहरु सोहि बाटो हुँदै भारततर्फ आउजाउ गरिरहेका छन । वारपार गर्नेहरुलाई सुरक्षाकर्मीहरुले सामान्य सोधपुछ गर्दै आउजाउ गर्न दिइरहेका छन । हुनत यसअघि पनि सो बिषयका समाचारहरु प्रकासन,प्रशासरण नभएका होइनन तर प्रहरीले प्रशासनले एकदुई दिन कडिकडाई गर्ने र त्यसपछिका अवस्था भने ज्यूंका त्यूं छ । पैसाको लेनदेन गरेर आउजाउ गर्न दिइराखिएको स्थानीय दाबी गर्छन । सहजै वारपार गर्न पाउने भएपछि नेपालतर्फबाट दैनिक सयौं सर्वसाधारण तथा ब्यापारी मालसामान खरीद गर्न जोगबनी बजार पुग्छन र निर्धक्क भएर बेलुका घर फर्कन्छन । हुल बनाई जोगबनी पुगेका बिराटनगरका महिला ब्यापारीहरुको यो समूह निर्धक्क साथ उताबाट सामान खरीदगरि विराटनगरतर्फ फर्किदै गरेको दृष्य समेत हामीले खिच्न भ्यायौं । इश्लामपुरहुँदै विराटनगरको मुख्य सिमानाका सम्म आईपुगुञ्जेल हामीले ती महिलाको समूहलाई नियालेका थियौं । रानी भन्सारक्षेत्र आईपुगेपछि हामीले समूहका एकजना महिलालाई पारी गएर कसरी आइपुग्नुभयो भनेर प्रश्न राखेका थियौं । नेपाली मात्र नभई सो बाटोबाट भारतीयहरु समेत दैनिक आउने गरेका छन । त्यसक्षेत्रमा पुगेको मकालु टेलिभिजनको क्यामरा देखेपछि सर्तक भएको प्रहरीले विराटनगरतर्फ आउन लागेका ५ जना भारतीयलाई केहिबेर रोकेर केरकार गरी फेरिपनि जोगबनी तर्फ नै फर्काएको थियो । यसअघि प्रहरीले असोज २५ मा ६ जना भारतिय सहित ४४ जनालाई पक्राउ गरी सम्बन्धित पालिकाको क्वारेण्टाइनमा पठाएको थियो । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका र बुढीगंगा गाँउपालिकाका स्थानीय रहेका थिए । प्रहरीले आफ्नो जिम्मेवारी र कर्तब्य ईमान्दारीपुर्वक निर्वाह गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता मानबहादुर राईले दाबी गर्नुभयो । ईश्लामपुरको यो नाका हुँदै बेलुका ११ बजेदेखि ३ बजेसम्म तस्करी समेत हुने गरेको स्थानीयले बताएका छन । पारीबाट ठेलामा आउने सामान रातभरि टेम्पुहरुबाट बिराटनगर बजार भित्र्याउने गरिएको उनिहरुको भनाई छ । यद्यपि त्यस बिषयमा स्थानिय क्यामरामा बोल्न डराउँछन । विराटनगरको रानी भन्सार क्षेत्र सुनसान रहँदा इश्लापुरमा लागेको टेम्पु तथा सिटि चालकहरुको भीडले नै यहाँको अवस्था वर्णन गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *