Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने महानगरको तयारी

विराटनगरका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने महानगरको तयारी

विराटनगर ४ असोज
आवश्यक परेको बेला रगतको अभावमा छट्पटाउने विरामी र तिनका आफन्तले अब विराटनगर महानगरपालिकाबाट निःशुल्क रगत पाउने भएका छन । महानगरका स्थायी वासिन्दालाई उपचार गर्दा आबश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था महानगनरपालिकाले गरेको हो । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । विराटनगरका स्थायी वासिन्दा विरामी भई अस्पतालमा उपचार गराउँदा रगतको आबश्यकता परे महानगरपालिकाले निःशुल्क उपलब्ध गराउने विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिनुभयो । रगत किन्न नसकेर कसैको पनि अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी, मोरङसँग समन्वय गरेर महानगरवासीलाई रगत आबश्यक परे निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हैदर अलीले जानकारी दिनुभयो । हानगरपालिकाले विराटनगर स्थित नेपाल रेडक्रस सोसाईटीको रक्तसञ्चार केन्द्रलाई बार्षिक रुपमा एक मुस्ट खपत भएको रगतको मूल्य भूक्तानी गर्ने सम्झौता गरिसकेको उहाँले बताउनुभयो । रक्तसञ्चार केन्द्रले १ प्रिण्ट रगतको ८ सय १० रुपैँयाँ लिंदै आएको छ । निःशुल्क रुपमा रगत पाउन महानगरको स्थायी बासिन्दा तथा अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकले रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ । डाक्टरले पुर्जा दिएपछि पुर्जा लिएर रेडक्रस सोसाईटीमा गएपछि रगत स्वत पाइने छ । निःशुल्क रगत पाउन महानगरको स्थायी वासिन्दा भएको प्रमाण देखाउनुपर्ने अलीले बताउनुभयो । महानगरपालिका र रेडक्रस सोसाईटीबीच आर्थिक बर्ष २०७७÷२०७८ असार मसान्तसम्मका लागि यो सेवा सुचारु गर्ने सम्झौता भएको छ । निःशुल्क रगत बितरण कार्यक्रमको एक वर्षको प्रभावकारिता मूल्यांकन गरेर थप निर्णय गरिने अलीले बताउनुभयो । यसैगरी कोशी अस्पताल विराटनगरले पनि प्रसुती सेवामा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । रेडक्रस सोसाईटीसँग समन्वय गरेर प्रसूति गराउन कोशी अस्पताल आउने आमाहरुका लागि आवश्यक रगत निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ । कोशी अस्पतालको स्त्री तथा प्रसूति विभाग अन्तर्गत प्रसूति कक्षमा भर्ना भएका गर्भवती महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । सुरक्षित प्रसूति सेवा अन्र्तगत रक्तसंचार सेवा निःशुल्क गरिएको मेसु दासले बताउनुभयो । अस्पतालको प्रसूति कक्षमा भर्ना भएका गर्भवती महिलाहरु जुनसुकै स्थानको भएपनि अस्पतालले रगत उपलब्ध गराउने छ । तर, अस्पतालमा भर्नापछि रगत आवश्यक भएको चिकित्सकको सिफारिस अनिवार्य हुनुपर्ने छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोध सिंहले विराटनगर महानगरपालिका र कोशी अस्पतालसँग निःशुल्क रगत प्रदान गर्ने विषयमा सम्झौता भएको बताउनुभयो । विराटनगर महानगरपालिका र कोशी अस्पतालले निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेसँगै महानगरका वासिन्दा र कोशी अस्पतालमा प्रसूति गराउन आउने आमाहरूले रगत किन्न नसकेरै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने निश्चित छ । विराटनगर महानगरपालिकाले जस्तै अन्य स्थानीय तह र अस्पतालहरूले पनि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरी आर्थिक रुपमा कमजोर र विपन्न नागरिकको जीवन रक्षाका लागि ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *