Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरका युवाहरुद्वारा महानगर क्षेत्रभित्र छाडा छाडिएका कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन

विराटनगरका युवाहरुद्वारा महानगर क्षेत्रभित्र छाडा छाडिएका कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन

विराटनगर १८ असोज
विराटनगरका युवाहरुले महानगर क्षेत्रभित्रका भुसिया कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन गरिरहेका छन् । बिरामी परेका कुकुरको औषधोपचारसँगै खानेकुरासमेत उपलब्ध
गराउँदै आएका छन् । महानगर क्षेत्रभित्र मानिसहरुको चाप बढ्दो छ । छाडा छाडिएका कुकुरलगायतका पशुहरु संख्यासमेत सडकमा प्रशस्त देख्न सकिन्छ । कुकुरहरुबाट रोग सर्ने भयावह पनि उत्तिकै रहेको छ । यसैलाई मध्यनजर गर्दै कुकुरहरुबाट कुनै प्रकारको रोग सर्न नदिनका लागि विराटनगरका युवाहरुले भुसिया कुकुरमा रेविजविरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन गरिरहेका छन् । सडकमा छाडा रहेका कुकुरहरु संकलन गरेर रेविजविरुद्धको भ्याक्सिन लगाउन निकै नै जोखिमपूर्ण कार्य रहेको विराटनगरकी सामाजिक अभियनता स्वीकृति कोइरालाले बताउनुभयो ।  उहाँले कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन र औषधी उपचार गर्न विरानगर क्षेत्रका सबै मानिसहरुले हौसला प्रदान गरेको बताउनुभयो । उहाँले अभियानलाई निरन्तरता दिनेसमेत प्रतिवद्धता जनाउनुभयो । कतिपय कुकुरहरुको खुट्टा र ढाँड भाँचिनुका साथै शरीरमा घाउ भएकालाई उपचार गर्न निकै जोखिम व्यहोर्नु परेको अर्की सामाजिक अभियन्ता शिल्पा सुवेदीले बताउनुभयो । यस विषयमा अनुभव र रकमको अभावका कारण समस्या भएको बताउनुभयो । पशु अस्पतालमा उपचारको राम्रो प्रबन्ध नभएका कारण झनै समस्या झेल्नुपरेको उहाँको भनाइ छ । (कोभिड–१९) को बेलामा सर्तकता अपनाउँदै कुकुर लगायतका चौपायाहरुलाई विगत पाँच महिनादेखि युवाहरुले औषधी उपचार, र विभिन्न सेवा दिंदै आएका छन् । औषधी उपचार लगायत खाना र पानी खान नपाउँदा भोकले छटपटाइरहेका कुकुरलाई उनीहरुले विस्कुट र पानीसमेत खुवाउँदै आइरहेका छन् । युवाहरुको सक्रियतामा कुकुरहरुलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने अभियान निकै नै प्रशंसनीय भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डाक्टर संजयकुमार यादवले बताउनुभयो ।नगरक्षेत्रका युवाहरुले निकै नै प्रसंशायोग्य काम गरेको भन्दै कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन आवश्यक प्राविधक सहयोग जुटाइदिने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो । विराटनगर महानगरपालिका क्षेत्रभित्र हालसम्म ४ हजार ८ सय कुकुर, २ सय ५५ गाई, ४५ वटा साँढे, ३० वटा गधा, ८० वटा खचर, २ सय ८ वटा सुँगुरलगायतका छाडा चौपाहा रहेको महानगरको तथ्यांकमा उल्लेख छ । युवाहरुले सुरु गरेको अभियानलाई निरन्तरता दिन आर्थिक अभाव देखिएको छ । यो अभियान अन्यन्तै प्रशंसनीय भएकाले स्थानीय सरकार, सामाजिक संघसंस्थाले सहयोग गरेर अभियानमा लागेका युवाहरुलाई हौसला प्रदान गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *