Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > वनवन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै आआफ्नै तवरले हिजो विश्व गैंडा दिवस मनाए

वनवन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै आआफ्नै तवरले हिजो विश्व गैंडा दिवस मनाए

चितवन ७ असोज
वनवन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै आआफ्नै तवरले हिजो विश्व गैंडा दिवस मनाएका छन् ।
लकडाउनका कारण औपचारिक कार्यक्रम नभएपनि यसको संरक्षणका कस्तो कदम चाल्ने भन्ने विषयमा आआफ्नै तवरले सोचिएको हो । गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो । अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन् । नेपालमा भने एक सिंगे गैंडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैंडा छन् । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७४,७५ मा २६ वटा गैंडा मरेका छन् भने २०७५,७६ मा ४३ वटा मरेका छन् । यस्तै, सन् २०१३ मा गरिएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९, पर्सा राष्ट्रिय निकुञ्जमा ३ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा गैंडा रहेका निकुञ्जहरुले जनाएका छन् । दुर्लभ मानिएको एकसिंगे गैंडा जोगाउन वासस्थान व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । पछिल्ला वर्षहरुमा चोरी शिकारीको सङ्ख्या घट्दै आएको भए पनि चुनौती भने यथावत रहेको छ । झण्डै चार वर्ष पछि गत भदौ २३ गते तस्करले गैँडा मारेका थिए । उक्त घटनापछि निकुञ्ज सुरक्षामा थप कडाइ गरिएको छ । घाँसै मैदानको व्यवस्थापन हुन सकेको छैन । मिचाहा प्रजातिका झारले घाँस अतिक्रमणमा परेको छ । गैंडाका लागि आवश्यक ताल व्यवस्थित हुन सकेको छैन । निकुञ्जमा घाँसे मैदान घटेर वन क्षेत्र बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्दा ३० हजार हेक्टरमा घाँसे मैदान थियो । अहिले घटेर १० हजार हेक्टर मात्रै छ । गैंडाले काँस, खर बढी मन पराउँछ । पानीको स्रोत घट्दा वासस्थान प्रभावित बनेको छ। ताल सुक्न थालेपछि गैंडालाई पानी खान र आहाल बस्न समेत समस्या परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *