Saturday, January 18, 2025
Home > मुख्य समाचार > लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालद्धारा विराटनगरमा ३० बेडको आइसोलेसन केन्द्र सञ्चालन

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालद्धारा विराटनगरमा ३० बेडको आइसोलेसन केन्द्र सञ्चालन

विराटनगर २५ असोज
कोभिडका विरामीलाई उपचारमा सहजताका निम्ति लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वान नेपालले प्रदेश एकको राजधानी विराटनगरमा ३० बेडको कोभिड–१९ लायन्स आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । आइसोलेसनमा आउने बिरामीलाई लाग्ने सय दिनसम्मको सम्पूर्ण खर्च बेहोर्ने गरी लायन्सले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । पछिल्लो समय कोरोना महामारीको संक्रमणले तीव्ररुप लिएपछि कोभिड १९ का विरामीहरुको संख्या ह्वात्तै बढेको छ । संक्रमणको संख्याले दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेसँगै प्रदेश एकका आइसोलेशन तथा उपचार केन्द्रहरु भरिभराउ भएका छन् । विरामीको संख्या अत्यधिक बढेका कारण संक्रमितको उपचारमा असहजता उत्पन्न हुँदै गएको छ । त्यसलाई थेग्न प्रदेश सरकारलाई समेत हम्मेहम्मे परेको छ । स्थान अभावकै कारण इच्छा नहुँदा नहुँदै पनि कतिपय संक्रमितहरु होम आइसोलेशनमै बस्नुपरेको छ । अवस्था भयावह हुँदै गएपछि संक्रमितको उपचारमा सहजताका निम्ति लायन्स क्लब अन्तर्राष्ट्रिय ३ सय २५ ए–वानले सामाजिक विकास मन्त्रालय, विराट सामुदायिक भवनसहित लायन्स आबद्ध विभिन्न क्लबहरुको सहयोगमा प्रदेश एकको राजधानी विराटनगरमा ३० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । झण्डै ३० लाखको लगानीमा आइसोलेशन केन्द्र संचालनमा ल्याइएको लायन्स क्लब ३२५ ए–वानका पूर्व गभर्नर लीला ढुंगेलले बताउनुभयो । विराटनगर–१२ बखरीस्थित विराट सामुदायिक भवनमा सञ्चालनमा ल्याइएको आइसोलेशनमा २० जना पुरुष र १० महिला सिट छ । निम्न वर्ग र भाडामा बस्नेहरुलाई लक्षित गरेर आइसोलेसन सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एवानले विराटनगर महानगरपालिकाका साथै काठमाडौंमा समेत ५० बेड क्षमताको आइसोलेशन सञ्चालनमा ल्याएको छ । संक्रमितको उपचारमा जटिलता बढ्दै गएपछि सरकारलाई सघाउन र विरामीलाई सेवा गर्ने उद्देश्यसहित आइसोलेशनहरु सञ्चालनमा ल्याइएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका वर्तमान गभर्नर टंकबहादुर श्रेष्ठ र क्लबका जीएसटी मल्टिपल को–अर्डिनेटर अनन्त भेटुवालले जानकारी दिनुभयो ।
प्रदेश एकको राजधानी विराटनगरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको आइसोलेशनको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । सो क्रममा बोल्नुहुँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले समेत संक्रमितको व्यवस्थापनलाई थेग्न नसक्ने गरीको अवस्था सृजना हुँदै गएको अवस्थामा लायन्सले अग्रसरता लिनु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले संचालनमा ल्याइएको आइसोलेशनमा अक्सिजन प्लान्ट तथा आवश्यक जनशक्ति, उपकरणहरुको ब्यवस्था गरेर थप प्रभावकारी र व्यवस्थित बनाइने घोषणासमेत गर्नुभयो । संक्रमणले गुणात्मक रुपमा तीब्रता लिइरहँदा सर्वसाधारणको स्वास्थ्य जोखिम बढ्दो छ । यस्तो अवस्थामा व्यक्ति स्वयंले आफ्नो स्वास्थ्य सुरक्षा गर्नु नै अचुक उपाय हो । यद्यपि थप व्यवस्थित र गुणस्तरीय उपचार केन्द्रहरुको आवश्यकतासमेत छ । यसका लागि सरकारकै मात्र भर नपरी लायन्स क्लब जस्तै थप अन्य स्वयंसेवी संघसंस्थाहरु अघि सर्र्नु आवश्यकता छ । मकालु समाचारका लागि विराटनगरबाट नवीन कर्णको रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *