Saturday, January 18, 2025
Home > आर्थिक समाचार > लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न पूर्वका उद्योगी व्यवसायीको आग्रह

लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न पूर्वका उद्योगी व्यवसायीको आग्रह

बिराटनगर १८ भाद्र
कोरोनाभाइरसको संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञा अझै पनि कायमै छ । लकडाउन र निषेधाज्ञाका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका ६० प्रतिशत उद्योग बन्द छन् । खुल्ला भएका उद्योगहरूले पनि क्षमताको ४० प्रतिशतभन्दा कम मात्रै उत्पादन गरिरहेका छन् । कोरोना संक्रमण र संक्रमण रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाका कारण साना ठूला सबै खालका उद्योग व्यवसाय प्रभावित भएका छन् । कोरोना महामारी रोक्न लगाइएको लकडाउन र निशेधाज्ञाले सुनसरी–मोरङ औद्योगिक करिडोरमा अर्बौंको क्षति भइसकेको छ । यहाँ सञ्चालित करिब ६ सय उद्योगमध्ये धेरैजसोले न्यूनमात्रै उत्पादन गरिरहेका छन् । कोरोना महामारी र महामारी रोक्न लगाइएको लकडाउन तथा निशेधाज्ञाका कारण उत्पादनमूलक उद्योगहरूको अवस्था दयनीय भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउनुहुन्छ । घिमिरेका अनुसार लकडाउन र निशेधाज्ञाका कारण उद्योगको उत्पादन, बिक्रि र भण्डारमा ठूलो असर परेको छ । यस्तै मजदुरलाई नै कोरोना संक्रमण भएका कारण पनि उद्योग सञ्चालनमा समस्या भइरहेको छ । कतिपय उद्योगका मजदुरलाई कोरोना संक्रमण भएर बन्द गर्नुपरेको छ । मजदुर तथा कर्मचारीलाई संक्रमण भए केहि दिनका लागिमात्रै उद्योग बन्द गर्नुृ पर्ने भए पनि लकडाउन र निषेधाज्ञाले करिब ६ महिनादेखि उद्योग प्रभावित भएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा हाल करिब ४० प्रतिशतमात्रै उद्योग सञ्चालनमा रहेका छन् । त्यस्ता उद्योगहरूले पनि उत्पादन भारी मात्रामा कटौति गरेको घिमिरेले बताउनुभयो । कोरोना महामारी, लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय धराशायी बने पनि बैंकको व्याज, विमाको प्रिमियम, घर भाडालगायतका खर्च यथावत छ । व्यवसाय ठप्प भए पनि बैंक र विमाले व्याज तथा किस्ताको ताकेता गर्न नछाडेको घिमिरको गुनासो छ । लकडाउन र निशेधाज्ञाले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने भएकाले स्वास्थ्यका प्रोटोकल अपनाएर उद्योग, व्यवसाय सञ्चालनको व्यवस्था गर्नु आवश्यक रहेको घिमिरे बताउनुहुन्छ । ठूला उद्योगी व्यवसायीमात्रै हैन विराटनगरका साना व्यवसायीहरू अझै धेरै समस्यामा परेको खुद्रा व्यवासायी संघ मोरङका अध्यक्ष सञ्जय मण्डल बताउनुहुन्छ । लामो समयदेखिको लकडाउन र निशेधाज्ञाका कारण व्यापार व्यवासय ठप्प हुँदा घरभाडा तिर्न र दैनिक गुजारा चलाउनै मुस्किल परेको मण्डलले बताउनुभयो । लकडाउन र निशेधाज्ञालाई खुकुलो पार्दै उद्योग, व्यवसाय सञ्चालनको वातावरण बनाउन मण्डलले सरकारसँग मागगर्नुभयो । लकडाउनका कारण फलफूल र तरकारी व्यवसाय पनि प्रभावित बनेको विराटनगरका फलफूल व्यवसायी कमल साहले बताउनुभयो । लकडाउन र निशेधाज्ञाका कारण तरकारी र फलफुलको व्यवसायसमेत नराम्ररी प्रभावित भएको छ । लकडाउन र निशेधाज्ञाका कारण उपभोक्ताको आवतजावत घटेपछि खरिद गरेको तरकारी र फलफूल बिक्रि नभएर कुहिने गरेको छ । एकातिर व्यापार घटेको र अर्कोतर्फ तरकारी तथा फलफुल कुहिएर फाल्नु परेका कारण दैनिक गुजारा चलाउनै मुस्किल भएको उहाँले बताउनुभयो । कोरोनाको त्राससँगै लकडाउन र निषेधाज्ञाका कारण उद्योगी, व्यवसायी, मजदुर र सर्वसाधारणको जनजीवन चौतर्फी रुपमा प्रभावित बनेको छ । धेरैको रोजगारी गुमेको छ । कोरोना नियन्त्रणका लागिपहिलो पटक करिब ३ महिना देशैभर लकडाउन गरिएको थियो । केहि समय लकडाउन खुले पनि पुनः संक्रमण फैलिएको भन्दै विराटनगरलगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । विराटनगरमा लगाइएको निषेधाज्ञा केहि खुकुलो पारिए पनि पुर्णरुपमा हटेको छैन । कोरोना संक्रमण फैलिने क्रम अझै पनि नरोकिएकाले फेरि पनि लकडाउन र निशेधाज्ञा नहोला भन्ने अवस्था छैन । कोरोना माहामारी नियन्त्रणका नाममा लकडाउन र निषेधाज्ञा गरेर जनजीवन प्रभावित बनाउनुभन्दा यसको विकल्प खोज्नु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *