श्याम गुप्ता बारा २१ भाद्र
राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित आठजना माथि कुनै कारबाही नभएपछि स्थानीय आक्रोशित भएका छन् । मेयर यादव र आठ जना वडअध्यक्षसहित १३ जनालाई कारबाही नै नगरी प्रहरीले छाडेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । वितरण गरिएको दालका विषयमा अनुसन्धान पूरा नगरिकनै प्रहरीले मेयरसहितका व्यक्तिहरुलाई छाडेको स्थानीयको आरोप छ । राजनीतिक दबाबका कारण मेयर र वडाध्यक्षहरुलाई प्रहरीले कारबाही नगरेको स्थानीयको भनाइ छ । स्थानीयले पटक–पटक जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्रसमेत बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको धरौटी बुझाएर उनीहरु तारेखमा रिहा भएका हुन् । नगरवासीको स्वास्थ्यमाथि खेलवाड गर्ने मेयर यादव र वडाध्यक्षहरुलाई कडाभन्दा कडा कारबाही गर्न स्थानीयले माग गर्दै आएका छन् ।