Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभाका सदस्यहरुद्धारा समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यहरुद्धारा समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी ले विवादास्पद मिडिया काउन्सिल विधेयक, नेपाल विशेष विधेयक र सुचना प्रविधि विधेयक बहुमतका आधारमा पास गर्ने काम भए संविधान प्रदत्त हक नरहने भन्दै मौलिक हक हनन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । सरकार क्षमता प्रर्दशन गरेर लोकप्रिय बन्नुको सट्टा डर, भय र त्रासबाट शासन चलाउने लक्ष्यमा उद्धत रहेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले मौलिक हकमा बन्देज लगाउने विधेयकहरुलाई खास विधेयकको रुपमा राखेर राष्ट्रियसभा नियमावलिले गरेको व्यवस्था अनुसार जनतामा लगेर अन्तिम टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो । राष्ट्रियसभा सदस्य महेश कुमार महराले देशकै सबैभन्दा ठूलो परियोजना पश्चिम सेती परियोजनाको काम अगाडि बढ्न नसकेकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । केन्द्रीकृत राज्य संरचनामा पछि परेको सुुदुरपश्चिमका जनताले संघीय शासन प्रणालीपछि पनि राहतको अनुभूति गर्न नसकेको भन्दै त्यस क्षेत्रलाई फेरि पनि पछि पार्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले पशुपति विकास क्षेत्रमा रहेको १८ सय रोपनी जग्गाका पूर्जा पशुपति विकास क्षेत्रको नाममा नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोषका नाममा रहेको जग्गाको पूर्जा तत्काल कोषकै नाममा ल्याउने व्यवस्था मिलाउन आग्रह पनि गर्नुभयो । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले थोत्रा सवारी साधन गाउमा पठाउने काम रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *