एजेन्सी ४ असोज
बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ । पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले यस्तो निर्णय गर्नुभएको हो । राष्ट्रपति लुकाशेन्कोको आरोपको अमेरिका र युरोपियन युनियले खण्डन गरेका छन् । अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति लुकाशेन्कोले धाँधली गरेको भन्दै उहाँविरुद्ध प्रदर्शनहरु सुरु गरिएको छ । तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहनु भएका लुकाशेन्कोले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो । प्रदर्शन दबाउन प्रहरी परिचालन गर्न थालेपछि प्रदर्शन थप उग्र बन्दै गएको थियो । राष्ट्रपति लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै सडकहरुबाट सेनालाई फिर्ता बोलाएर उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले लुथियाना र पोल्यान्डसँगको सीमानाका पनि बन्द गरेको घोषणा गर्नुभएको छ ।