Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन

रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन

काठमाण्डौ १६ असोज

रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा हिजो गजुर प्रतिस्थापन गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि हिजो सुनको लेपन भएको गजुर राखिएको छ । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलिमा पूननिर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरत प्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताउनुभयो । मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । २०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुनर्निर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताउनुभयो । अब मन्दिरभित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *