एजेन्सी १६ भाद्र
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा हिजो निधन भएको हो ।
हिजो मुखर्जीका छोरा अभिजितले सामाजिक सञ्जाल ट्विटरमार्फत निधन भएको पुष्टि गरेका हुन् । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित सेनाको आर.आर. अस्पतालमा उपचाररत मुखर्जी कोरोना भाइरसबाटसमेत संक्रमित हुनुभएको थियो । गएको अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउनुभएको थियो । मुखर्जीले भारतको अर्थ, रक्षा तथा विदेशमन्त्री जस्तो पदमा रहेर पनि आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । मुखर्जीको अन्त्येष्टि आज गरीनेछ । यस्तै मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै भारत सरकारले सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतका वर्तमान राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।