एजेन्सी ३० असोज
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । सारजाह क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा पञ्जावले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको एकसय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर एकसय ७१ रन बनाएको थियो । बैंगलोरकालागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा छ । पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यस अघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो । बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।