Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मोरङको सुन्दरहरैंचामा देशमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय निर्माण

मोरङको सुन्दरहरैंचामा देशमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय निर्माण

मोरङ सुन्दरहरैंचा २९ असोज
मोरङको सुन्दरहरैंचामा देशमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय निर्माण गरिएको छ । नगरका ८ ठाउँमा पुस्तकालयसहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने अभियान अन्तरगत २ ठाउँमा निर्माण सम्पन्न भइ उद्घाटन समेत गरिएको छ । मुख्यमन्त्रीले नै सार्वजनिक शौचालय उद्घाटन गरेको भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रमुख अतिथि भएर मंगलबार मोरङको सुन्दरहरैंचामा सार्वजनिक शौचालयको उद्घाटन गर्नुभयो । तर मुख्यमन्त्री राईले उद्घाटन गरेको सो शौचालय देशकै नमुना शौचालयको रुपमा रहेको छ । कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राई स्वयम्ले सुन्दरहरैंचामा देशमै पहिलो पटक पुस्तकालयसहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय बनेको भन्दै सुन्दरहरैंचाबासीलाई धन्यवाद दिनुभयो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय समाजसेवी, व्यवसायीसहितका नगरबासी तथा नगरपालिकाको सहकार्यमा नगरका ८ वटा ठाउँमा पुस्तकालयसहितको अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय बनाउने योजना अनुसार २ वटा शौचालय निर्माण सम्पन्न भएपछि मुख्यमन्त्री राईलाई बोलाएर उद्घाटन गरिएको हो । सलकपुर र विरोटचौकमा भवन निर्माण सम्पन्न भइ उद्घाटन समेत भएको अवस्थामा खोर्साने र हरैंचामा निर्माणको अन्तिम चरणमा रहेको तथा गोठगाउँ, गछिया, बलिया र मृगौलियामा चाँडै निर्माण कार्य अघि बढाइने बताइएको छ । दुई ठाउँमा सबै काम सम्पन्न भइसक्दा र अन्य २ ठाउँमा भवन निर्माणको काम अन्तिम चरणमा पुगिरहेको बेला ३ करोड बढी रकम खर्च भइसकेको निर्माण समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद् राजकुमार ओझाले बाँकी भवन निर्माणको काममा प्रदेश सरकारबाट समेत बजेट विनियोजन गर्न मुख्यमन्त्री राई समक्ष आग्रह गर्नुभयो । सो भवन निर्माणमा ३५ प्रतिशत भन्दा बढी लगानी नगरपालिकाले गरेको छ । नगर प्रमुख शिवप्रसाद ढकालले पर्याप्त बजेट नभएको अवस्थामा समेत नगरपालिकाले नगरको गौरवको काम भएकाले सहयोग गरेको र आगामी दिनमा पनि बजेट छुट्याउने प्रतिवद्धता जनाउनुभयो । सुन्दरहरैंचा नगरपालिका क्षेत्र तत्कालिन गाविस हुँदाको अवस्था देखि नै हरेक क्षेत्रमा अग्रणी रहने गरेको छ । पूर्वकै शैक्षिक हबको रुपमा विकास भएको क्षेत्र तथा पहिलो बन्द निशेधित क्षेत्र र बसोबासका लागि उत्कृष्ट गन्तव्यको रुपमा पहिचान बनाएको सुन्दरहरैंचा, अब पुस्तकालयसहितको अन्तर्राष्ट्रिय मापदण्डको सार्वजनिक शौचालय भएको देशकै एकमात्र नगरको रुपमा समेत परिचित बन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *