Saturday, January 18, 2025
Home > मुख्य समाचार > मोरङको बेलबारीका क्यान्सर पीडित कलाकार राघभ राजवंशीको उपचारमा आर्थिक अभाव

मोरङको बेलबारीका क्यान्सर पीडित कलाकार राघभ राजवंशीको उपचारमा आर्थिक अभाव

बेलबारी, मोरङ १ असोज

लामो समयसम्म वाद्यबाधनमार्फत समाजलाई योगदान पुर्याउँदै आउनुभएका मोरङको बेलबारीका कलाकार राघभ राजवंशी क्यान्सरका कारण थला पर्नुभएको छ । उहाँले बाद्यबादन बजाएका एकाहा र सप्ताह पुराणबाट संकलित रकममार्फत थुप्रै क्याम्पस र विद्यालयहरु स्थापना गरिएका छन् । तर, यतिबेला क्यान्सर पीडित कलाकार राजवंशी आफ्नै जीवनरक्षाका लागि सहयोगको याचना गरिरहनुभएको छ । बेलबारी नगरपालिका वडा नम्बर –९ तिनखुटिया टोलका फुपा नामले चिनिने राघभ राजबंसी यतिबेला रोगका कारण थला पर्नुभएको छ । बाहिर भित्र गर्नसमेत उहाँले परिवारको सहायता लिनु परेको छ । यतिधेरै सामाजिक काममा सहयोग पुर्याउने तर अहिले रोगले थला परेर उपचारसमेत गर्न नसक्ने अवस्थामा पुगेपछि आफन्त तथा शुभचिन्तकहरुसँग उपचारका लागि आर्थिक सहयोग आशामा बसिरहनुभएको छ । राघभले विगत २० बर्षदेखि एकाहा तथा सप्ताह पुराणमा ढोलक, मादल, तवला बजाएर भजन गाउने क्रममा देश र समाजका लागि ठूलो योगदान दिनुभएको छ । उहाँको मधुर स्वरका कारण उठेको रकमबाट सडक निर्माण, क्याम्पस भवन, विद्यालय भवन, अतिथि सदन, खेल मैदान जस्ता विकास निर्माणका काम भएका छन् । रोग नलाग्दा उहाँले कुवेर सुवेदी, घनश्याम दाहाल, केवलकृष्ण अधिकारी, कृष्ण कोइराला, टहलकिशोर जि महाराज, तारा घिमिरेलगायत ख्यातिप्राप्त विद्वान विदुषीहरुको टोलीमा रहेर काम गर्नुभएको छ । अरुसामु कहिल्यै हात नफैलाउने राघभ यतिबेला भने जीवन बचाईदिन अरुसँग हात फैलाउन विवश हुनुहुन्छ । ५५ बर्षीय राघभलाई अहिले कलेजोको क्यान्सर भएको छ । कलेजोको क्यान्सर भएर बिएन्सी अस्पताल बिर्तामोडमा उपचार गराइरहनुभएको छ । विगत ७ महिनादेखि नियमित रुपमा उपचार गराइरहनुभएका राघभको उपचारमा ७ लाखभन्दा बढि खर्च भइसकेको छ । झन् पछिल्लो समय त उहाँलाई औषधिकै लागि मात्र ५ हजारभन्दा बढी खर्च हुन थालेको छ । सम्पत्तिका नाममा १२ धुर जग्गामा बनेको एउटा साधारण टिनको छानाले बनेको भुँई घर सिवाय केही छैन । ४ बहिनि छोरी, १ भाइ छोराका पिता राघभ अहिले आश्रित जीवन जिउन विवश हुनुहुन्छ । कलाकार राघवकी श्रीमतीले श्रीमानलाई बचाई दिन सबैसँग हारगुहार गर्नुभएको छ । राघभसँगै भजन गायनमा सक्रिय बेलबारीका बिक्रम बास्तोला राघभले विगतमा समाजका लागि ठूलो सहयोग पुर्याएको बताउनुभयो । राघभको योगदानलाई सम्झिएर उपचारमा स्थानीय पालिकासहित सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एउटालाई पर्दा अर्काेले सहयोग पुर्याउनु हाम्रो सामाजिक संस्कार हो । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ । तर, अहिले हिजोको जस्तो अवस्था छैन । अहिले त गाउँमै सरकार छ । अर्थिक अवस्था कमजोर भएका यस्ता व्यक्तिको उपचारको व्यवस्था गर्ने दायित्व राज्यको हो । यसर्थ तीनै तहको सरकारले कलाकार राजवंशीको उपचारमा सहयोग गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *