Saturday, January 18, 2025
Home > आर्थिक समाचार > मोरङको ग्रामथान मोतीपुरका युवाहरु कृषितर्फ आकर्षित

मोरङको ग्रामथान मोतीपुरका युवाहरु कृषितर्फ आकर्षित

मोरङ १३ असोज
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतीपुरका युवाहरु कृषिप्रति आकर्षित भएका छन् । कोरोनाका कारण बेरोजगारी दर बढ्दै गएको अवस्थामा मोतीपुरका युवाहरु कृषिबाट स्वरोजगार भई आत्मनिर्भर भएका छन् ।
ग्रामथान गाउँपालिका–४ स्थित मोतीपुर विनटोलका युवाहरु लकडाउनका कारण रोजगारी गुमाएपछि कृषितर्फ लागेका हुन् । लकडाउनका कारण रोजगारी गुमेपछि त्यतिकै बस्नुभन्दा तरकारी खेती गरेर आत्मनिर्भर भएको उनीहरु बताउँछन् । राज्यका तर्फबाट सुविधा नपाए पनि युवाहरुले आफ्नै लगानीमा तरकारी खेती गरेका हुन् । उत्पादित तरकारीको उचित मूल्य र बजारसम्म पुर्याउन सरकारले सहजीकरण गरिदिनुपर्ने स्थानीय कृषक विशेश्वर महतो बताउनुहुन्छ । महतोले ३ बिघा क्षेत्रफलमा करेला, बोडी, लौका, खुर्सानी र काँक्रा खेती गर्नुभएको छ । तरकारी खेती गर्दा बिघामा २ देखि ३ लाख रुपैयाँसम्म लगानी भएको उहाँले बताउनुभयो । विशेश्वर महतोसहित स्थानीय अशेश्वर महतो विन, सन्तोष सिंह, रामचन्द्र मण्डल विन लगायतका युवाहरु मिलेर तरकारी खेती गरेका छन् । उनीहरुले १५ बिघाभन्दा बढीमा तरकारी खेती गरेका छन् । उनीहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारसहित विराटनगर, बेलबारीसम्म पुर्याउने गरिएको छ । प्रदेश सरकारको तर्फबाट बजारीकरण, कृषिमा सरकारी सहयोग, उत्पादनलाई बजारसम्म पुर्याउन बाटो, सिंचाइ, कृषि औजारको अभावलगायतका समस्या रहेको स्थानीय कृषक विशेश्वर महतोले बताउनुभयो । उहाँले यी समस्या समाधानका लागि प्रदेश सरकारबाट आश्वासन पाएको उल्लेख गर्नुभयो ।  यसै वर्षदेखि सुरु गरेको तरकारी खेतीबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन् । तर युवाहरुले राज्यबाट कुनै प्रकारको सहयोग पाएका छैनन् । यसैबीच, प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले तरकारी खेतीको अनुगमन गर्नुभयो । उहाँले युवालाई हौसला प्रदान गर्न तरकारी खेतीको अनुगमन गरेको बताउनुभयो । उहाँले अनुगमनको क्रममा कृषिबाट आत्मनिर्भर बनेका तरकारी कृषकहरुका लागि राज्यबाट पाउने सेवा सुविधाको विषयमा कृषिमन्त्रीसँग पहल गर्ने बताउनुभयो ।  अनुगमनको क्रममा उहाँले बजारीकरण, कृषिमा सरकारी सहयोग, उत्पादनलाई बजारसम्म पुर्याउन बाटो, सिंचाइको समस्या, कृषि औजारको समस्या र लोहन्द्रा खोला कटानबाट कृषकहरुलाई हुने क्षति लगायतका समस्यालाई प्रदेश सरकारवाट सम्बोधन गराउने प्रतिवद्धता जनाउनुभयो । राज्यले कृषकलाई सुविधा दिन नसकेको स्थानीय युवा नरेन्द्र बस्नेत बताउनुहुन्छ । राज्यले सुविधा उपलब्ध गराएर कृषिलाई सम्मानित पेशाका रुपमा अगाडि बढाए मात्रै कृषिमा युवाको आकर्षण बढ्ने बस्नेतको भनाइ छ । कृषि क्षेत्रमा युवाहरुलाई सक्रिय बनाउनका लागि बजेटलाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बजेटमार्फत कृषिमा राम्रा कार्यक्रम आए पनि कार्यान्वयन पक्ष फितलो हुँदा कृषकले लाभ लिन नसकेको बस्नेतले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *