पूर्वको मेचीनदी पारी पनि नेपाली भूमि छ । मेचीपारि बसोबास गर्ने नेपाली बर्षौंदेखि भारतीयको थिचोमिचो सहन बाध्य छन् । नदीको बाढी र भारतीयको सास्तीले बसोबास छोडे पनि आफ्नो जमिनको भोगचलन गर्न नेपाली किसानलाई कम्ती सास्ती छैन ।
झापाको भद्रपुर–५ सिमलडाँगी पश्चिममा मेची खोला र अरू तीनतिरबाट भारतीय भूमिले घेरिएको छ । त्यहाँको सयौं बिघा नेपाली भूमिमा कृषिजन्य सामग्रीको राम्रो उत्पादन हुन्छ । त्यहाँ उत्पादन भएको कृषिजन्य सामग्री कि त भारतीय बाटो भएर ल्याउनुपर्छ कि त जोखिम मोलेरै भए पनि खोलाबाट ल्याउनुपर्ने बाध्यता छ । तर, आफ्नै भूमिमा उत्पादन भएको सामग्री भद्रपर बजारसम्म ल्याउन भने स्थानीयलाई सास्ती छ । आफ्नै देशको बजारमा कृषिजन्य उत्पादन ल्याउन पनि भारतीय सीमा सुरक्षा बलसँग पैठेजोरी खोल्नुपर्छ । नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा किसानलाई सकस भएको स्थानीय बताउँछन् ।
२०४५ सालमा मेची नदीमा आएको बाढीले मेचीपारिको बस्ती विस्थापित गर्यो । खेतीयोग्य जमिन खण्डहर बनाउँदै अर्काको जग्गा खनजोत गर्दै बसेका किसानलाई उठिबास नै लगायो । तर, विस्तारै खोला पुरानै धारमा फर्कियो । किसानले खण्डहर भएको बगरलाई पुनः खनजोत गर्दै उब्जनी हुनसक्ने बनाए । अहिले त्यस क्षेत्रमा धान, मकै, आलु, भन्टा, खुर्सानीजस्ता अन्न तथा तरकारी उत्पादन हुन्छ । खेतीयोग्य जमिनभन्दा करिब दुई किलोमिटर दक्षिणमा भारतसँग जोड्न पुल बनाइएको छ । तर, त्यहाँ उत्पादन भएका कृषिजन्य सामग्री पुलबाट लैजान भारतीय भूमि नै प्रयोग गर्नुपर्छ । जसका कारण भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयको झमेलामा पर्नुपर्छ ।
नेपालमै उत्पादन भएको सामग्री आफ्नै ठाउँमा लैजाँदा दुःख पाउँदा पनि स्थानीय सरकारले नहेरेको स्थानीय किसान दुखेसो गर्छन् । तर, भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ नेपाली भूमिमै उत्पादन भएको कृषिजन्य सामग्री नेपालमा ल्याउन अप्ठ्यारो नभएको दाबी गर्नुहुन्छ ।