Saturday, January 18, 2025
Home > आर्थिक समाचार > माङ्गुरसहितका जिउँदो माछा आयातमा लगाइएको रोक हटाउन व्यवसायीहरुको माग

माङ्गुरसहितका जिउँदो माछा आयातमा लगाइएको रोक हटाउन व्यवसायीहरुको माग

बिराटनगर २० असोज
माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने ब्यवसायीहरुले माग गरेका छन । माङुर माछा मानव स्वास्थ्य प्रतिकुल भए प्रमाणित गर्न नभए रोक हटाउन उनीहरुको माग रहेको छ । माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने मागगर्दै मोरङका माछा ब्यवसायीहरु पछिल्लो समय सम्बन्धित निकायका विभिन्न कार्यालयहरु धाईरहेका छन । आयातमा रोक लगाइएपछि थोक तथा खुद्रा ब्यवसायीहरु धराशायी भएको भन्दै उनीहरुले रोक हटाउन माग गरिरहेका छन । गएको साउन पहिलो साता भारतको कलकत्ताबाट विराटनगरको रानी भन्सार हुँदै भित्रिएको १५ लाख मुल्य बराबरको माङुर माछा सुनसरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको थियो । विराटनगरस्थित रानी भन्सार, पशु क्वारेन्टाईन र माहानगरपालिकालाई बुझाउनुपर्ने नियमानुसारको कर, इजाजत र बिल सहित भित्रिएको माछा प्रतिबन्धित रहेको भन्दै सुनसरी प्रहरीले कार्यालय हाताभित्र खाडल खनी पुरेको थियो । ब्यवसायीहरुले विगत साढे दुई दशक यता निरन्तर क्याट फिसका रुपमा चिनिने माङुर माछाको आयात गर्दै आएपनि पछिल्लो समय सरकारकै एउटा निकायले अनुमति दिने अर्कोले रोक्ने समस्या देखिएको मोरङ माछा ब्यवसायी संघको आरोप छ । पशु क्वारेन्टाइन बिराटनगरले खान योग्य प्रमाणित गरेको उक्त माछा प्रहरीको फन्दामा परेपछि भने क्वारेन्टाइन भाण्टाबारीले प्रतिवन्धित भन्दै नष्ट गर्न सिफारिस गरेको थियो । सिरहाको बन्दीपुरसम्म लान लागिएको उक्त माछाको बिलमा भने ट्रकमा लोड गरिएको भन्दा बढी परिमाणमा माछा भेटिएको थियो । उक्त घटनापछि सम्बन्धित निकायले माङुरको आयातमा पुर्णरुपले रोक लगाएको छ । जसका कारण ब्यवसायी समस्यामा परेका छन । लाखौं लगानी गरेर लामो समयदेखि संचालन गर्दै आएको ब्यवसाय बिना सूचना एकाएक बन्द गर्नुपर्दा आफुहरुको बिजोग भएको विराटनगरका ब्यापारीहरु गुनासो गर्छन । माङुर माछा मानव स्वास्थ्य प्रतिकुल भए प्रमाणित गर्न समेत उनीहरुले चुनौती दिएका छन । उता पशु क्वारेन्टाईन कार्यालय मोरङका क्वारेन्टाईन अधिकृत डा.अनित घिमिरेले माङुर माछामा प्रतिबन्ध लगाइएको नभई आयातमा रोक लगाइएको जानकारी दिनुभयो । स्थानीय जातको माछाको नश्ल संरक्षणकालागि पछिल्लो समय बनाइएको मापदण्ड अनुसार सबै खालको जिउदो माछाको आयातमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो । यसअघि ब्यापारीहरुले लामो समयदेखि भारत लगायतका मुलुकबाट जिउदो माछा आयात गर्दै आएका थिए । पछिल्लो मापदण्ड लागू भएसंगै ब्यापारीहरुको बिरोध शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *