Saturday, January 18, 2025
Home > आर्थिक समाचार > भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबजारी बढ्यो

भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबजारी बढ्यो

विराटनगर ३ असोज

भान्सामा नभईनहुने प्याजमा कालोबजारी शुरु भएको छ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएसंगै नेपालमा कालोबजारी बढेको हो ।
पछिल्लो ४ दिनमा प्रदेश एकको राजधानी विराटनगरमा प्याजको मुल्यमा शतप्रतिसतभन्दा बढीले बृद्धि भएको छ । शनिवारसम्म ६० रुपैयाँ किलोमा बिकेको प्याजको मुल्य आईतबारयता बिहीबार आईपुग्दा सम्म खुद्रामा १ सय २० हुँदै १ सय ४० रुपैया सम्म पुगेको छ । पछिल्लो समय थोक ब्यापारीले ९० देखी सय रुपैयाँसम्म प्याज विक्री गरिरहेकाले बजारमा प्याजको मुल्य अनपेक्षितरुपमा बढेको छ । अधिकांश प्याज भारतबाट निर्यात हुँदै आएकोमा शनिवार रातिबाट भारत सरकारले निर्यातमा रोक लगाएपछि त्यही मौका छोप्दै ब्यापारीहरुले मनमौजी मुल्य बृद्धि गरेका छन । आईतबार बिहानबाट प्याज आयात रोकिएपनि त्यस अघि खरीद गरिएका प्याजको मुल्य समेत मनोपोली ढंगले निर्धारण गरेर ब्यापारीहरुले कालोबजारी गरिहेका छन । विराटनगरको सिमावर्ती कटहरी–१ मा संचालनमा ल्याइएको फलफूल तथा तरकारी थोक बजारमा केहि महिना अघिदेखी नै २५ टन बढी प्याज भण्डारण गरिएको छ । उक्त बजार संचालक समितिले हाल थोकमा ८० रुपैयाको दरले प्याज विक्री गरिरहेको छ । यसअघि खरीद गरिएका प्याज परीक्षणकालागि भण्डारण गरिएको र ४ दिन अघि ७० रुपैयाँको दरले खरीद गरिएको प्याज आफुहरुले ८० रुपैयामा विक्री गरिरहेको बजार ब्यवस्थापक रतनकुमार सिंहको दाबी छ । सिंहले त्यस्तो दाबी गरिरहँदा स्थानियले उपभोक्ताले भने त्यस कुरालाई अस्विकार गर्छन । कटहरी–१ का पुष्पराज माझीले केहि समय अघिसम्म आफुले कृषि थोक बजारबाटै खुद्रामा ३० रुपैयाको दरले खरीद गरेकै प्याज अहिले चार गुणा बढी मुल्य लिएर बिक्री गरिरहेको दाबी गर्नुभयो ।  सम्बन्धित निकायले अनुगमन नगरी बेखबर झै बसेका कारण थोक तथा खुद्रा ब्यापारीहरुले मनोपोली दाम लिइरहेको उहाँको दाबी छ । विराटनगरका सब्जीको ठुलो थोक ब्यापारीमा गनिने अन्नपुर्ण सप्लायर्सले दैनिक सरदर २५ टन प्याज बिक्री गर्छ । उक्त सप्लायर्सले हाल ९० देखी ९५ रुपैयाँ थोक मुल्यमा प्याज विक्री गरिरहेको छ । भारत सरकारले निर्यातमा रोक लगाएपनि आफुले अघि नै खरीद गरेको प्याज सोमबार बोर्डरमा आएको र मंगलबारमात्र भन्सार तिरेर ल्याएको सप्लायर्सका संचालक पशुपति भगतले दाबी गर्नुभयो । आफ्नो पक्ष राख्दै उहाँले भन्सारको प्रज्ञापन र ४८ रुपैया ५१ पैसा भारुमा खरीद गरिएको बिल समेत मकालु टेलिभिजन सामु प्रस्तुत गर्नुभयो ।
ब्यापारीहरुले आ–आफ्ना तर्क र दाबी गरिरहँदा उपभोक्तालाई भने प्याजको मुल्यले रुवाएको छ । सम्बन्धित निकायले तत्काल बजार अनुगन गरेर सत्यतथ्य बाहिर ल्याउनुका साथै प्याजको मुल्य नियन्त्रण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *