Saturday, January 18, 2025
Home > मुख्य समाचार > बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै

बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै

बारा १ असोज
बारामा वन सुरक्षाकर्मीभन्दा काठ तस्कर समूह बलियो बन्दै गइरहेको छ । काठ तस्कर समूहले वन कर्मचारीमाथि आक्रमण गर्नेसम्मका घटना पछिल्ला दिनहरुमा बढ्न थालेका छन् । जसका कारण वन सुरक्षाकर्मीहरुको मनोवल घट्दै गएको देखिन्छ । दुई साता अघि स्थानीयले ककरी वन रेञ्ज पोष्टका ईन्चार्ज अब्दुल करिम मियाँलाई कार्यालय परिसरमा नैं हातपात गरे । त्यसको केही दिन नबित्दै मधुवन डिभिजन वन कार्यालय बाराको गस्ती टोलीमाथि ३०÷३५ जनाको काठ तस्करको समुहले आक्रमण गर्यो । वन सुरक्षाकर्मीमाथी नैं तस्करहरुका समूह जाई लाग्न थालेपछि बाराको वन संरक्षणमा चुनौती देखिएको छ । आक्रमण हुँदा पनि आफूसँग भएको हतियार चलाउन नसकेको उनीहरुको भनाइ छ । यता डिभिजन वन कार्यालय बाराले वन गस्तीलाई कडा बनाई रहेको दाबी गर्दै आइरहे पनि काठ चोरी तस्करीका घटना बढिरहेको छ । भदौको तीन साताभित्र मात्र बाराको मधुवन सव डिभिजन वन कार्यालय अन्तर्गतको जैतापुर, बोधवन लगायतका अन्य वन क्षेत्रबाट लाखौं रुपैयाँ बराबरको काठ तस्करी भएको बताइएको छ । तस्कर समुहले जैतापुर, रामनगर, १४ किलोमिटर आसपासको वन क्षेत्रबाट एक दर्जनभन्दा बढी हरियो ठाडो सालको रुख ढालेर लगको छ । समूहले वन कार्यालय हाताभित्रैकै काठसमेत चोरेर लैजाने गरेको छ । काटिएका गोलाई साइकल, पिकअप भ्यान, बलेरो भ्यानमा लैजाने गरेका छन् । विगतमा ट्रक नैं जंगलमा हुलेर काठ चोरी तस्करी गर्ने तरिकालाई फरक गर्दै तस्कर समुहले साना चार पांग्रे भ्यान प्रयोग गर्ने गरेका छन् । केही वन कर्मचारी, प्रहरीले नैं तस्करलाई लाईन दिएकै कारण चोरी तस्करी बढेको स्थानीयको आरोप छ । नाकामा रहेको जैतापुर प्रहरी चौकी र सशस्त्र प्रहरीले समेत कडाई नगर्दा काठ चोरी तस्करी बढेको वन कर्मचारीहरुको भनाइ छ । खुल्ला नाका र वन संरक्षणका लागि थोरै जनशक्ती भएकाले पनि नियन्त्रण गर्न कठिनाई भएको वन कर्मचारीहरु बताउँछन् । लकडाउन सुरु भएदेखि हालसम्म एक हजार ५९ क्यूफिट काठ, गोलाई बरामद गरिएको छ । यसको दशौं गुणा बढी परिमाण काठ गोलाई तस्करहरुले लगेका छन् । यस अवधिमा २२ जनामाथि मुद्दा दायर गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । बारामा काठ चोरी तस्करीका घटना बढिरहेको भन्दै संलग्न कर्मचारीलाई कारबाही हुनुपर्ने माग राख्दै नागरिक समाजले एक वर्ष अघि छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका थिए । तर, प्रहरी र कर्मचारीकै मिलेमतोमा काठको तस्करी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *