Saturday, January 18, 2025
Home > मुख्य समाचार > बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै

बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै

बारा ५ कात्तिक

बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको पाइएको छ । विकास निर्माणका नाममा जनप्रतिनिधि र कर्मचारीहरुले आपसी मिलेमतो गरी फर्जि उपभोक्ता समिति बनाई लाखौं रुपैयाँ पेश्की लिने र काम नगर्ने गरेको तथ्य बाहिरिएसँगै गाउँपालिका भ्रष्टाचारको अखडामा रुपान्तरण भएको पाइएको हो ।  देवताल गाउँपालिका वडा नम्बर ४ मा निर्माण भैरहेको गाउँपालिका कार्यालयको भवन निर्माण गर्दागर्दै भत्किन थालेको छ । दुई महिनाअघि मात्रै ढलान गरिएको छत निर्माणमा कमसल सामग्री प्रयोग भएकाले ठाउँठाउँबाट भत्किएको लागेको हो । २०७६ जेठ मसान्तभित्रमा कार्यालय भवन निर्माण गर्नका लागि २०७५ माघ ६ गते नवलकिशोर पण्डित अध्यक्ष रहेको उपभोक्ता समितिसँग श्रमदातासहित करिब ९७ लाख सम्झौता गरेको गाउँपालिकाले जनाएको छ । सम्झौता गरिएको भन्दा एक वर्ष ढिलो गरेर छत ढलान गरिएको कार्यालयको भवन गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । तलबाट छत हेर्दा कतै ढलानमा प्रयोग गरिएको डण्डी देखिन्छ भने कतै कम सिमेन्ट प्रयोग गरेर ढलान गरिएको भागहरु देखिने गरेको छ । स्थानीयले गुणस्तरहीन निर्माण सामग्री छत ढलानमा प्रयोग गरेको देखेपछि ढुंङ्गा र बाँसले तलबाट छतमा हान्दा छतबाट ढलानमा प्रयोग गरिएको निर्माण सामग्रीहरु भत्केर खसेको स्थानीय विकासकुमार सिंहको भनाइ छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायहरुमा लिखित जानकारीसमेत गराएको सिंहले बताउनुभयो । कार्यालय भवन निर्माण गर्नका लागि गाउँपालिका अध्यक्ष चन्दन सिंह योजना शाखा प्रमुख अभिनन्दन साह र सबईन्जिनियर औलिक महम्द लगायतले नवलकिशोर पण्डितको अध्यक्षतामा उपभोक्ता समिति बनाएर त्यस कामलाई कमिसनमा ठेक्केदारलाई बेचेको र उपभोक्ता समितिबाट ठेक्केदारले कमिशनमा काम किनेर गराउँदा बढी नाफा लिने र कमिसन दिने कारणले कार्यालयको भवनमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको स्थानीय लगन यादवको दाबी छ । कमिशनको लोभमा भवनको छत ढलान कार्यमा कम गुणस्तरको निर्माण समाग्री प्रयोग गरेर छत ढलान गरिएको घटनाको बिरोध शुरु भए पछि त्यसलाई ढाकछोप गर्न रातारात छतको पलास्टर गर्ने कार्य समेत गराईएको यादवले बताए । कार्यालय भवन निर्माणमा पटकपटक गरी एक करोडभन्दा बढी खर्च गरिएको छ । तर गरिएको खर्चसमेत पारदर्शी छैन । आर्थिक वर्ष २०७५÷७६ मा कार्यालय भवन निर्माणका लागि गाउँ सभाले ९० लाख र गत आर्थिक वर्ष २०७६÷७७ मा ७५ लाख रूपैयाँ नगर सभाले बिनियोजन गरेको गाउँपालिकाको योजना शाखाले जनाएको छ । देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले भवनको निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको र छतको ढलान भत्केको जानकारी आएपछि त्यसको बारेमा बुझ्न प्राविधिकलाई खटाएको बताउनुभयो । यता सव ईन्जिनियर औलिक महम्दले गाउँपालिका कार्यालयको भवन गुणस्तरहिन निर्माण सामग्री प्रयोग नगरेको दाबी गर्नुभयो । उहाँले झुटो आरोप लगाएर छतको ढलान खसेको भनेर हल्ला मात्रै गरिएको बताउनुभयो । गाउँपालिकाबाट गरिँदै आएको भवन निर्माण, सडक ढलान, माटोपुरी ग्राभेललगायतको विकास निर्माणका कार्यलाई उपभोक्ता समिति बनाएर ठेक्केदारलाई २० देखि २५ प्रतिशन कमिसनमा बिक्री गरिँदै आएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *