Saturday, January 18, 2025
Home > मुख्य समाचार > बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा

बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा

भद्रपुर २५ असोज

बाढीले मेची नदीको धार परिवर्तन गर्दा सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन् । अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै बस्ती छेउबाटै पानी बग्न थालेपछि त्यहाँका बासिन्दा उच्च जोखिममा परेका हुन ।  कचनकवल गाउँपालिका ५ पाठामारीस्थित मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै सीमा पिलर ११२ नजिक आइपुगेको छ । सो क्षेत्र पाठामारी र भारतको ठाकुरगञ्ज बजार जोडने मुख्य नाका हो । त्यहाँ झोलुङ्गे पुल पनि निर्माणाधीन अवस्थामा रहेको छ । अहिले मेची नदीको धार हेर्दा सीमा पिलर र झोलुङ्गे पुलको पिलरसम्म आइपुगेको छ । २०२७ सालतिर खोला भारतीय सीमा नजिकैबाट बग्थियो । अहिलेसम्म जमिन कटान गर्दै नदी नेपाली भुभाग सम्म आइपुगेको कचनकवल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष महेशलाल गणेशले बताउनुभयो  यसपालि पाठामारी बजारदेखि उत्तरको भागमा मेचीले नदीले प्रहार गरेको छ । पाठामारी बजार नदीबाट जोगाउन संघीय तथा प्रदेश सरकारले सो स्थानदेखि माथिसम्म ढुुंगाको तटबन्ध लगाएको छ । बाढीको पानी तटबन्धमा ठोक्किदा बीच भागबाट पूर्वतर्फ गएको र निर्माणाधीन झोलुङ्गे पुल भन्दा तल्लो भागमा तटबन्ध नभएकोले नदीले पूरानो ठाउँबाट झन्डै २०० मिटरभित्र सम्म कटान गरेको स्थानीय प्रदिप हलुवाईले बताउनुभयो ।
पहिला गाउँपालिकाको पाठामारीसहित अधिकांश स्थान डुबानमा पदथ्र्याे, संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा गाउँपालिकाले विभिन्न ठाउँ ठाउँमा तटबन्ध लगाएकोले यसबर्ष काहीँ पनि डुबान भएन । तर पाठामारीको केही भाग मेची नदीले कटान गर्यो । अब नदी कटान रोक्नुका साथै तटबन्धन लगाउने बिषयमा बजेटकै आवश्यकता रहेको वडाध्यक्ष महेशलाल गणेशले बताउनुभयो । सो नाकाबाट दुवै देशका नागरिक वर्षाको बेला डुङ्गा र हिउँदो बेला बाँसे पुलबाट आवतजावत गर्दै आइरहेका छन् । तर यसपालि सीमा नाका सिल भएकोले डुङ्गा चलेको छैन भने बाँसे पुलको ठेक्का पनि खुलेको छैन । नदीमा निर्माणाधीन झोलुङ्गे पुल बन्ने समेत अनिश्चित देखिएको छ । करिब ४ वर्ष बित्न लाग्दा समेत ठेकेदार कम्पनी दुई वटा अधुरो पिलर खडा गरेर बेपत्ता भएका छन् । अब नदी कटानसँगै सीमाका बस्ती जोगाउन तीनै तहका सरकारले पहल गर्नु पर्ने स्थानीयको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *