Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश २ सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक

प्रदेश २ सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक

बारा २१ असोज

बारालगायत प्रदेश २ का ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले दुर्घटनाको डरलाग्दो तथ्यांक देखाएको हो । आर्थिक वर्ष ०७४÷७५ मा प्रदेश–२ का आठ जिल्लामा १ हजार एक सय पाँच सवारी दुर्घटनामा तीन सय ९४ जनाको मृत्यु भएको छ भने ०७५÷७६ मा ९ सय १४ सवारी दुर्घटनामा परी चार सय ९६ जनाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक वर्ष ०७६÷७७ मा एक हजार तीन सय ४० सवारी दुर्घटनामा परी चार सय २० जनाले ज्यान गुमाएका छन् । यो संख्या आर्थिक वर्ष ०७५÷७६ को सवारी दुर्घटनामा भन्दा ४६.६० प्रतिशतले बढी हो भने मानिसको मृत्युमा यो पल्ट १५.३१ प्रतिशतले कमि आएको हो । कानुन कार्यान्वयन फित्तलो भएका कारण सर्वसाधारणमा मनपरि गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले बताउनुभयो । चालु अर्थिक वर्षको असोजको दोस्रो हप्तासम्मको तथ्यांकअनुसार ६ महिनामा ६ सय ७९ दुर्घटनाबाट ७१ ले ज्यान गुमाइसकेका छन् । प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब चार सयजनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । जसमध्ये रौतहट र बारामा बढी दुर्घटना हुने गरेको छ । भने सिरहा र बारामा दुर्घटनाका कारण धेरैले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना बढ्नुको मुख्य कारण जिर्ण सडक र तिब्र गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असवधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरी उपरिक्षक महतोले बताउनुभयो । यसरी सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि प्रदेश ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण गर्न आफ्नों मातहतका ८ वटै जिल्लामा चेकजाँचलाई कडाइ गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *