Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रदेश–१ मा आइसोलेसन केन्द्रको अभाव पूर्ति भएन

प्रदेश–१ मा आइसोलेसन केन्द्रको अभाव पूर्ति भएन

विराटनगर । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । बढ्दै गएको संक्रमितलाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थानीय तह र निजी अस्पतालहरुमा आइसोलेशन वार्ड स्थापना गर्न निर्देशन दिएको १५ दिन बित्तिसक्दा पनि आइसोलेशन वार्ड स्थापना भएको छ ।

प्रदेश नम्बर १ मा कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेपछि सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस संक्रमित भएका व्यक्तिहरुको उपचारका लागि दक्ष जनशक्तिसहित स्थानीय तह र निजी अस्पतालहरुलाई आइसोलेशन वार्ड स्थापना गर्न आग्रह गरेको थियो । तर, मन्त्रालयले आग्रह गरेको १५ दिन वित्तिसकेको छ । अहिलेसम्म प्रदेश सरकारले पर्याप्त मात्रामा आइसोलेसन वार्डको व्यवस्थापन गर्न सकेको छैन । आइसोलेसन वार्डकै अभावका कारण प्रदेशमा कोरोना संक्रमितहरु घरमै बस्न बाध्य छन् । तर सामाजिक विकासमन्त्री जिवन घिमिरे भने प्रदेशका १४ वटै जिल्लामा सुविधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गर्ने तयारीमा जुटेको बताउनुहुन्छ ।

उहाँले विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान, गाउँपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकालगायतका स्थानीय तहमा आइसोलेसन स्थापना सुरु गरिसकेको बताउनुभयो । तर विराटनगर महानगरपालिका क्षेत्रभित्र माडवाडी सेवा सदन, बैजनाथपुरको स्वास्थ्य केन्द्रबाहेक अन्य पालिकाहरुमा आइसोलेशन वार्ड स्थापना गर्न कुनै सुरसार नभएको पाइएको छ । प्रदेश सरकारले मेडिकल अफिसर र स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम कहिले दिने र कहिले कोरोना संक्रमितहरुलाई जोगाउने भन्दै स्थानीय सुखसागर मण्डलले प्रश्न गर्नुभयो ।

यतिबेला समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ । समुदायस्तरमा कोरोना फैलिसक्दा पनि प्रदेश सरकारले आइसोलेशन वार्ड स्थापना र स्वास्थ्यकर्मीहरुलाई तालिम दिन ढिलो गरेकोप्रति उहाँले आपति जनाउनुभयो । विराटनगरभित्रका नोवेल, विराट, न्यूरो अस्पताललगायतले सुविधा सम्पन्न आइसोलेशन वार्ड सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयमा निवदेन दर्ता गराइसकेका छन् । संक्रमित थपिँदै गएको अवस्थामा सरकारले सुविधा सम्पन्न आइसोलेसन स्थापना गर्नेतर्फ ध्यान दिनुपर्नेमा औषधी व्यवसायी सुरेशकुमार सरदारले बताउनुभयो ।

उहाँले अस्पतालमा डाक्टर, नर्सहरु हुने भएकाले संक्रमितहरु मनोवैज्ञानिक रुपले पनि होम आइसोलेशनभन्दा अस्पतालमा बस्दा चाँडो निको हुने उहाँको बुझाइ छ । आईस्यू र भेन्टिलेटर सहितको आइसोलेशन चाँडो बनाउन प्रदेश सरकारलाई सर्वसाधारणले आग्रह गर्दै आएका छन् । प्रदशे १ मा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, वीपी कोइराला प्रतिष्ठान धरान र झापाको भद्रपुर अस्पतालमा मात्र सुविधा सम्पन्न आइसोलेशन वार्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *