बिराटनगर ५ असोज
प्रदेश १ को प्रदेश पाश्वचित्र(प्रोफाइल) र बार्षिक विकास कार्यक्रम सार्वजनिक गरिएको छ ।
संविधान दिवसको अवसरमा हिजो मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश योजना आयोगले तयार पारेको प्रदेश प्रोफाइल र बार्षिक विकास कार्यक्रम सार्वजनिक गरिएको हो । पाश्वचित्र र बार्षिक विकास कार्यक्रमको पुस्तक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री राईले पाश्वचित्र र वार्षिक विकास कार्यक्रमले प्रदेश सरकारलाई निती, कार्यक्रम तथा बजेट निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले व्यवस्थित तथ्यांकको अभावका कारण यथार्थ वितरण प्राप्त गर्न गाह्रो हुने गरेकाले स्थानीय तहबाटै तथ्यांक संकलन गर्ने र नियमित रुपमा अध्यावधिक भइरहने स्वचालित पद्दतिको विकास गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश पाश्वचित्र र बार्षिक विकास कार्यक्रमबारे प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमले जानकारी गराउनुभएको थियो ।