Saturday, January 18, 2025
Home > मुख्य समाचार > पठनपाठन ठप्प भएपछि विद्यार्थीहरुको भविष्य अन्यौलमा, विद्यार्थीहरु माछा मारेर दिन कटाउँदै

पठनपाठन ठप्प भएपछि विद्यार्थीहरुको भविष्य अन्यौलमा, विद्यार्थीहरु माछा मारेर दिन कटाउँदै

मोरङ २२ भाद्र
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विगत ६ महिनादेखि सबैजसो क्षेत्र ठप्प छ । कोरोनाले सबैभन्दा बढी असर पारेको क्षेत्रमध्ये शैक्षिक क्षेत्र पनि हो । ६ महिनादेखि शैक्षिक क्षेत्र ठप्प हुँदा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । विद्यालय बन्द भएर फुर्सदिला बनेका विद्यार्थीहरु यतिबेला माछा मारेर समय व्यतीत गरिरहेका छन् । कोरोना नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले सरकारले जारी गरेको लकडाउन यतिबेला केही खुकुलो भए पनि शैक्षिक संस्था ठप्प छ । विगत ६ महिनादेखि पठनपाठन ठप्प हुँदा यतिबेला बालबालिकाहरु फुर्सदिला बनेका छन् । विद्यालय बन्द भएपछि उनीहरु घरमा बस्नु भन्दा विभिन्न खेल खेल्ने र माछा मार्ने काममा व्यवस्त भएको देखिन्छ । सहरी भन्दा ग्रामीण क्षेत्रका अधिकांश बालबालिकाहरु खेल्न र माछा मार्नेमा बढी व्यस्त रहेको पाइन्छ । घरमा बस्दाबस्दा दिक्क लागेर मन भुलाउनका लागि पनि माछा मार्ने गरेको कटहरीका विद्यार्थी भक्तिनारायण राजवंशीको भनाइ छ । घरमा बसेर पढ्दा कतिपय कुराहरु नबुझ्दा समस्या आउने गरेको उनको भनाइ छ । लामो समय विद्यालय बन्द हुँदा भविष्य नै अन्यौलमा परेको राजवंशीले बताए । सहरी क्षेत्रका सीमित विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । सहरी क्षेत्रमै पनि सबै विद्यार्थीको पहुँच अनलाइन कक्षामा पुग्न नसकेको अवस्थामा ग्रामीण क्षेत्रका विद्यार्थीमा पुग्ने कुरै आएन । अब स्वास्थ्य मापदण्ड पूरा गरेर पठनपाठनलाई विस्तारै सुचारु गर्दै जानुपर्ने आवाजसमेत उठ्न थालेको छ । स्वभाविक रुपमा बालबालिकाहरु चञ्चले हुन्छन् । उनीहरु एकैठाउँमा धेरैबेर बसिरहन सक्दैन । त्यही भएकाले पनि यतिबेला सहरीसँगै ग्रामीण क्षेत्रका बालबालिकाहरु माछा मारेर समय कटाइरहेका छन् । दिनभरि विद्यालय जाने र घर आएर पनि गृहकार्य गर्ने काममा व्यस्त रहने विद्यार्थीहरु चैतदेखि कामविहीन भएका छन् । चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन बीचमा केही खुकुलो भए पनि पुनः देशका अधिकांश क्षेत्रमा निषेधाज्ञासहित लकडाउन लागू गरिएको छ । कोरोनाको संक्रमण फैलिँदा जाँदा विद्यालय कहिले खुल्ने हो भन्ने यकिन छैन । कटहरी–१ की गोमा निरौला पनि घरमा पढ्नै मन नलाग्ने गरेको सुनाउँछिन् । विभिन्न खेल खेलेर समय बिताउने गरेको निरौलाले सुनाइन् ।  विद्यालय जान नपाएपछि विद्यार्थीहरु खोला र पोखरीहरुमा माछा मार्न जाने गरेका छन् । मोबाइलमा खेल खेल्ने, टिभी हेर्ने, माछा मार्नेलगायतमै बालबालिकाहरु व्यस्त भएको पाइएको छ । पढाइ नभएको बेला बालबालिका यस्तो काममा अलमलिनुलाई स्वभाविक रुपमा लिनुपर्ने प्याब्सन मोरङका कार्यसमिति सदस्य रामकुमार राजवंशीको भनाइ छ । माछा मार्न खोला र पोखरीमा जाँदा बालबालिकाहरु डुब्ने जोखिम बढेको छ । कतिपय स्थानमा माछा मार्ने क्रममा डुबेर बालबालिकाको मृत्यु भएका घटनाहरु पनि सार्वजनिक भइरहेका छन् । बालबालिकाहरुलाई दुर्घटनाबाट जोगाउन अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *