Saturday, January 18, 2025
Home > आर्थिक समाचार > पछिल्लो समय खाद्यान्नको मूल्य अस्वाभाविक रुपमा बढ्दा उपभोक्तालाई महँगीको भार थेग्नै मुस्किल

पछिल्लो समय खाद्यान्नको मूल्य अस्वाभाविक रुपमा बढ्दा उपभोक्तालाई महँगीको भार थेग्नै मुस्किल

मोरङ ८ असोज
पछिल्लो समय खाद्यन्नको मूल्य अस्वाभाविक रुपमा बढेको छ । खाद्य सामग्रीको मूल्यवृद्धि भएसँगै त्यसलाई नियन्त्रणको प्रयाससमेत सुरु भएको छ । सम्बन्धित विभिन्न निकायले मूल्यवृद्धिको कारण खोज्न अनुगमनलाई तीब्रता दिएका छन् । पछिल्लो समय सागसब्जी, दलहन र तेलहनलगायतका खाद्यन्नमा अस्वाभिकरुपले मुल्यबृद्धि भएको छ । लकडाउन, ढुवानी र उपलब्धताको समस्या लगायतका कारण देखाउँदै व्यापारीले खाद्यपदार्थको मूल्यवृद्धि गरेका छन् । जसका कारण आमउपभोक्ता मारमा परेका छन । प्रतिकुल समयको मौका छोप्दै उत्पादक तथा ब्यापारीले मूल्यवृद्धि गरेका कारण त्यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलको भनाइ छ । खाद्यन्नमा चर्को मुल्यबृद्धि भएको बिषयमा उपभोक्ताको ब्यापक गुनासो आएपछि सम्बन्धित निकायहरुले अनुगमनलाई भने तीब्रता दिएका छन । केहि दिनयता जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताबादी संघसंस्थाहरुले निरन्तर अनुगमन गरिरहेका छन । अनुगमनको क्रममा अनुगमनकारी निकायले मोरङको कटहरी गाउँपालिकामा रहेका खानेतेल उत्पादक उद्योगहरुको अनुगमन गरेको छ । सम्बन्धित निकायको टोलीले कटहरीको वडानम्बर २ मा रहेको बाबा भेजिटेबल आयल इण्डस्ट्रीज र वडानम्बर ४ मा रहेको बागमती आयल इण्डस्ट्रीजको अनुगमन गरेको छ । सो क्रममा टोलीले दुवै उद्योगमा विक्रेतालाई विक्री गरेको सनफ्लावर र सोयाबिन तेलको मुल्यमा विक्रेता र उपभोक्ताको मुल्यमा ठुलो अन्तर फेला पारेको छ । यसैगरि टोलीले आधा लिटर एक लिटर,दुई लिटर र पाँच लिटरको मुल्यमा समेत अस्वाभिक अन्तर फेला पारेको छ । ती उद्योगहरुमा विक्रेता र उपभोक्ताबीचको मुल्य अन्तर २६ देखी ३२ प्रतिशतसम्म पाइएको अनुगमन टोलीले जनाएको छ । मुल्यमा अन्तर पाइएपछि सम्बन्धित उद्योगहरुलाई उत्पादन लागत खुलाउँदै ७ दिनभित्र लिखित जानकारी गराउन निर्देशन दिइएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो ।
ती उद्योगहरुबाट उत्पादित खानेतेलको नमुनासमेत संकलन गरिएको तथा त्यसको गुणस्तरसमेत परीक्षण गरिने प्रमुख पोखरेलले जानकारी दिनुभयो । केही दिन अघिबाट लकडाउन खुकुलो भएपछि बजारमा चहलपहल बढेको छ । चहलपहल बढ्ने बित्तिकै ब्यापारीले खाद्यान्न लगायतका सामग्रीहरुमा मूल्यबृद्धि गरेका छन् । नजिकिदो चाडपर्वमा थप मुल्यबृद्धि हुने हो कि ? भन्ने आशंकामा उपभोक्ता पिरोलिएका छन् । तसर्थ अनुगमनको दायरा थप बढाउँदै अस्वभाविक रुपमा बढेको मूल्यवृद्धि नियन्त्रण गर्दैै गुणस्तरमा समेत ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *