बिराटनगर २९ असोज
नेपाल वैश्य युवा संघ मोरङले मकालु टेलिभिजनका संवाददाता पदमकुमार सरदारसहित एक दर्जन व्यक्तिलाई सम्मान गरेको छ । कोरोनाको संक्रमणका बीच पनि जनतालाई सूचना सम्प्रेषणमा अहोरात्र खटेको भन्दै सरदारसहित पत्रकार प्रेम देवान र वीरेन्द्रकुमार साहलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघका अध्यक्ष गणेशकुमार साहले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै डा. बालकृष्ण साह, डा. रामकुमार साह, डा. रुपेश गामी, शव व्यवस्थापन गर्ने युवा कृष्णमान शाक्य, रविन कार्की, अनुराग भण्डारी, संजोग गौतम, राम नेपाल र सुयोग चापागाईलाई पनि सम्मान गरिएको थियो । कोरोना महामारीका बीच पनि आ–आफ्नो ठाउँबाट योगदान पुर्याएबापत सम्मान गरिएको संघका अध्यक्ष गणेशकुमार साहले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा मेयर पराजुलीले कोरोनाको कहरको बेला सर्तकता अपनाउँदै देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशैभरिका वैश्य समाजलाई एकजुट भएर अघि बढ्न सुझाव दिनुभयो ।
मेयर पराजुलीले कोरोना विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई आग्रहसमेत गर्नुभयो ।