Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी

काठमाण्डौ २३ असोज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । यसका लागि हिजो पनि दुईजना अध्यक्षबीच छलफल भएको छ । छलफलका क्रममा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने कुराकानी भएको नेकपा स्रोतले बताएको छ । स्रोतका अनुसार विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरुको नाम अहिले मन्त्रीका लागि चर्चामा छ । पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ भने श्रेष्ठलाई सहरी विकास मन्त्रालय दिने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बालुवाटारमा सम्पन्न भेटवार्तामा पार्टी एकतालाई पूर्णता दिने विषयमा सघन छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ। महासचिव विष्णु पौडेल पनि सहभागी भेटमा तीन नेताबीच छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी भएको बताइएको छ। गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले अझै पूर्णता पाउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *