काठमाण्डौ २४ भाद्र
नेपालमा हिजो एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमतिहरु निको भएर डिस्चार्ज भएका छन् ।
हिजो देशभरबाट दुईहजार दुईसय ८७ जना कोरोनाबाट संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । यस्तै हिजो तीनसय ७ महिला र पाँचसय ९५ पुरुष गरी नौसय दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । नेपालमा कुल संक्रमितको संख्या ४८ हजार एकसय ३८ पुगेको छ । अहिले देशभरी ८ हजार ५३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन भने ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा छन । अहिले एकसय ४४ जनाको आइसियुमा र २३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैबीच नेपालमा कोरोना संक्रमणबाट हिजो थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जना पुरुष र एक महिलाको मृत्यु भएको हो । काठमाडौं र पर्सामा २—२ तथा कपिलवस्तु र सुनसरीमा १–१ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।