काठमाण्डौ १५ असोज
गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभएको छ । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गर्नुभयो । थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि बताउनुभएको छ । सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६÷७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताउनुभयो ।उहाँले कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको समेत बताउनुभयो । थापाले नेपालमा पछिल्लो समय बलात्कारका घटनाहरु बढीरहेको भएपनि विश्वका अन्य देशहरुको तुलनामा अवस्था चिन्तजनक नभएको बताउनुभएको छ । विश्वका २ सय भन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपाल यस्ता घटनामा धेरै पछाडी रहेको बताउनुभएको छ । बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको बताउनुभयो । पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उहाँले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफुहरु सचेत रहेको बताउनुभयो । उहाँले पछिल्लो समय बालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बढिरहेको बताउनुभएको छ । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उहाँले बताउनुभयो । समाजले फौजदारी अभियोगमा मिलापत्र गर्ने पराम्पराले यस्ता घटनाहरुलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उहाँले बताउनुभयो ।