Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाण्डौ २४ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ ।
हिजो थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । हिजो १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । हिजो कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षिय, ५२ वर्षिय पुरुष, सुनसरीका ४६ वर्षिय, ५२ वर्षिय र ६८ वर्षिय पुरुष रहेका छन । यस्तै काठमाडौंका ७१ वर्षिय, ललितपुरका ८४ वर्षिय, रुपन्देहीका ४७ वर्षिय र ८४ वर्षिय पुरुष रहेका छन । देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । हिजो १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन । हिजोसम्म देशभरी ७३ हजार ३२ जना डिस्चार्ज भएका छन । मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. गौतमले बताउनुभयो । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिन सकिने उहाँले बताउनुभयो । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *