Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेकपाको विवादको गाठो फुक्यो, पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी

नेकपाको विवादको गाठो फुक्यो, पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी

काठमाण्डौ २७ भाद्र
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।  करिब डेढ महिना स्थगित भएपछि हिजो बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहालले सम्हाल्ने निर्णय पनि गरेको छ । यसअघि गत मंसिरमा दाहालले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या आएकाले त्यसलाई हिजोको बैठक थप व्याख्या गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनुहुनेछ । प्रवक्ता श्रेष्ठले पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन ओलीले गर्ने बताउनुभयो । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायत १३ जना सदस्यले आफ्नो धारणा राख्नुभएको छ । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित भएको उहाँले बताउनुभयो । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *