Saturday, January 18, 2025
Home > खेलकुद समाचार > दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

एजेन्सी २४ असोज
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।  युएईको सारजाहमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए । राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २–२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोट्र्जेको नाममा १–१ विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए । ओपनरद्वय पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट भए । अक्षर पटेल १७ रन बनाउँदा हर्सल पटेलले १६ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कात्तिक त्यागीले १–१ विकेट लिए । दिल्लीले सन्दीपलाई भने मौका दिएको थिएन । सन्दीप लगातार छैटौं खेलमा प्लेइङ सेट बाहिर रहेका हुन् । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो । राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *