Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > दशैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा

दशैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा

काठमाण्डौ २३ असोज
दशैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ ।
यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताउनुभएको छ । यस वर्षको दशैंमा ४÷५ लाखको सख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवस्यक नपर्ने देखिएको उहाँले बताउनुभयो । अहिले पनि काठमाडौंबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उहाँले बताउनुभयो । तर पनि २५ गतेपछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौं त्यहिं दशैं मनाउन अर्थात यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन आफूहरुको रहेको भुसालले बताउनुभयो । तर अग्रिम टिकट बुकिङको व्यवस्था नभए पनि दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उहाँले बताउनुभयो । गत वर्ष दशैंको बेलामा करिब २० लाख मानिसहरु काठमाडौंबाट बाहिरिएका थिए । तर अहिले ४÷५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवस्यकता नपर्ने देखिएको भुसालको भनाइ छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि पुगेमा लकडाउन गर्न सिफरिस गरेको कारणले पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने नगर्ने भन्ने सम्बन्धमा अन्योल देखिएको भुसालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *