Saturday, January 18, 2025
Home > मुख्य समाचार > तयारी सामग्रीहरुको बढ्दो प्रयोग र नयाँपुस्ताले चासो नलिंदा प्राचीन सिक्की कला लोप हुने अवस्थामा

तयारी सामग्रीहरुको बढ्दो प्रयोग र नयाँपुस्ताले चासो नलिंदा प्राचीन सिक्की कला लोप हुने अवस्थामा

विराटनगर २७ भाद्र

बर्षायाममा मात्र उम्रिने सिक्कीबाट कलात्मक सामग्रीहरुको निर्माण गरिन्छ । सिक्कीको डाँक्लाबाट सामान्य औजार प्रयोगगरि हस्तकलाका बहुउपयोगि र आर्कषक सामग्रीहरु निर्माण गरिन्छ । हेर्दा सामान्य घाँसजस्तो देखिने यो बनस्पति सबैकालागि उपयोगि नहुन सक्छ । तर जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड़ भने जस्तै सिद्धहस्त शिल्पीकालागि भने यो घाँसे प्रजातिको बनस्पति अत्यन्त उपयोगि छ । यो घाँसे बनस्पतिबाट बनाइएका हस्तकलाका यि सामग्रीहरु हेर्नुस त । सामान्य रंग र औजारको प्रयोगगरि निर्मित यि घरेलु उपयोगका सामाग्रिहरु सिक्कीबाट बनाइएका हुन । यो सिन्के बनस्पतिको बीच भागको डाँक्लालाई सिक्की भनिन्छ । कुलो, कुलेसो र खेतबारीको डिलमा यो बनस्पति आफै उम्रिने गर्छ । बर्षायामको शुरुआतमा उम्रिने सिक्की बर्षायाम सक्किएसंगै आफै मौलाएर सुक्ने गर्छ । यतिखेर बर्षातको मौसम छ र जताततै सिक्कीको झ्याँङ उम्रिएको भेटिन्छ भने महिलाहरुको समुह समेत सिक्कीबाट कलात्मक सामग्रीहरु निर्माण गरिरहेका भेटिन्छन । संकलनगरिएको सिक्कीलाई विभिन्न रंगले रंगाएर घाममा सुकाएपछि टकुआ भनिने सामान्य घरेलुु औजारबाट उनेर सामग्रीहरु निर्माण गरिन्छ । सिक्कीबाट मौनी,पथिया,ढाकी,फुलडाली र मुजेला भनिने सामग्रीहरु बनाईन्छ । मैथिली संस्कृतिमा सिक्कीबाट निर्माण गरिएका बस्तुहरुले अत्यन्त महत्व राख्दछ । परम्परागतरुपमा बनाईने यी बस्तुहरु कलात्मक,आर्कषक र टिकाउ हुन्छन । नवविवाहित छोरीज्वाँईलाई विदाई गरि पठाउँदा मौनी पथिया र ढाकीहरुमा खाद्यान्न र मिठाई लगायतका सामग्री कोसेली दिएर पठाउने परम्परा छ । यसैगरि पुजापाठ र पुजा कोठामा समेत सिक्कीबाट निर्मित सामग्रीहरु प्रयोग गरिन्छ । मैथिल संस्कृतिमा सिक्कीबाट कलात्मक बस्तुहरु बनाउन जान्ने कलालाई विभिन्न कलाहरुमध्ये एउटा महत्वपूर्ण कला र दक्षताकारुपमा लिइन्छ । परिवारका प्रौढ महिलाहरुबाट स्वतस्फुर्तरुपमा यो कला नयाँ पुस्ताका छोरीचेलीहरुमा हस्तान्तरण हुँदै आएको छ । यसको औपचारिक प्रशिक्षण भने संचालन गरेको पाईंदैन जसका कारण यो कला संकटमा पर्दै गएको छ । पछिल्लो समय तयारी सामग्रीहरुको प्रयोगगर्ने चलन र नयाँ पुस्ताले सिक्की कलामा चासो नलिएका कारण यो प्राचिन कला लोप हुने अवस्थामा पुगेको छ । स्थानीय तहहरुले यस सम्बन्धि तालिम र प्रर्दशनी लगायतका कार्यक्रमहरु संचालन गर्न सके यो बिशिष्ट कलालाई जोगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *