Saturday, January 18, 2025
Home > मुख्य समाचार > झापामा पिसिआर परीक्षण कार्य रोकियो, रिपोर्ट पाउन एक हप्तासम्म कुर्नुपर्ने बाध्यता

झापामा पिसिआर परीक्षण कार्य रोकियो, रिपोर्ट पाउन एक हप्तासम्म कुर्नुपर्ने बाध्यता

 

झापा १८ भाद्र

पछिल्लो समय झापामा समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेका छन् । यस्तो अवस्थामा पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने भए पनि स्थापना भएका प्रयोगशाला भने सञ्चालन हुन सकेका छैनन् । जसका कारण संकलित स्वाबको रिपोर्ट आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा गत साउन २६ गतेदेखि कोभिड–१९ को पिसीआर परिक्षण गर्न प्रयोगशाला सञ्चालनमा आयो । तर एक महिना पनि सञ्चालन नहुँदै पिसिआर परीक्षण बन्द भएको छ । पिसिआर प्रयोगशालामा चाहिने ‘प्लेट कभर’ सकिएपछि गत शनिबारबाट सेवा बन्द भएको हो । यस्तै, समुदायस्तरबाट संकलित रकमबाट कन्काई नगरपालिकाको कोटिहोममा पिसीआर प्रयोगशाला स्थापना भयो । प्रयोगशाला सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको भए पनि अझै सञ्चालनमा आउनसकेको छैन । प्रयोगशाला भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल मातहत रहने गरी सञ्चालन हुने भनिए पनि कार्यविधि र जनशक्ति अभावका कारण सञ्चालनमा नै आउन सकेको छैन ।
पछिल्लो तथ्याङ्कअनुसार झापामा कोरोना संक्रमितको संख्या पाँचसय नाघिसकेको छ भने २ जनाको मृत्युसमेत भइसकेको छ । जिल्लामा सुरक्षाकर्मीसँगै कन्ट्रयाक ट्रेसिङ्गमा समेत नपरेका समुदायका मानिसहरुमा संक्रमण पुष्टि भएको छ । जसले गर्दा स्थानीय प्रशासन तथा विभिन्न स्थानीय तहहरुले सम्बन्धित क्षेत्रमा निषेधाज्ञा जारी गरी धमाधम पिसीआर संकलन गरिरहेका छन् । विभिन्न स्थानमा संकलित स्वाब पिसीआर परिक्षणका लागि धरान र विराटनगरको प्रयोगशालामा लैजानुपर्ने बाध्यता छ । संकलित स्वाबको रिपोर्ट आउन झण्डै एक साता लाग्ने भएकाले झनै समस्या भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौम्लागाईँले बताउनुभयो । झापामा १८ दिन सञ्चालन भएको पिसीआर प्रयोगशालाले २ हजार ५ सय ७६ जनाको स्वाब परिक्षण गरेको थियो । खासगरी अस्पतालमा भर्ना भएका बिरामी र तत्काल कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको पिसीआर परिक्षण गर्न सहज भएको थियो । झापामा यी दुईवटा पिसीआर प्रयोगशाला सञ्चालन भएको खण्डमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाको पीसिआर परिक्षण गर्न छिटो र सहज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *