झापा ४ असोज
सुपाडीका बोटबाट बर्सेनि खस्ने खबटाको हिसाबकिताब नै राखिन्न । झरेका त्यस्ता खबटा कति त आगो बालिन्छ भने कति त कुहिएरै जान्छन् तर झापाको बुद्धशान्ति गाउँपालिका वडा –२ का माधवप्रसाद रिजालले त्यसै खेर गइरहेको सुपारीको पातको खबटाबाट प्लेट र दुना–टपरी मात्र बनाएका छैनन् यसैलाई आफ्नो मुख्य व्यवसाय बनाएर मनग्गे आम्दानी समेत लिइरहेका छन् । उनले यो व्यवसाय २०६९ सालमा सुरु गरेका हुन् । ५५ लाख लगानी गरेर सुरु गरेको यो व्यवसाय एउटा उद्योगको रुपमा स्थापित भैसकेको छ । नानी देमा अग्र्यानिक प्लेट उद्योगको नाममा स्थापना भएको उनको यो उद्योगमा अहिले दुना, टपरी र प्लेटको उत्पादन हुने गर्छन् । यस्ता अर्गानिक दुना टपरीहरु बिबाह, ब्रतबन्धलगायतका शुभकार्यका साथै अन्य सबैखाले कार्यमा प्रयोग हुने गर्छन् । तर उनले स्वास्थ्यको दृष्टिकोणले समेत महत्व बोकेको यी दुना टपरी प्लेट बजारको मागअनुसार पुर्याउन सकेका छैनन् । पछिल्लो समय धातुजन्य भाडावर्तनको अलावा प्लाष्टिकजन्य प्लेटहरुको खपत बढिरहेको छ । यस्ता प्लास्टिकका प्लेटले वातावरणलाई समेत असर गर्ने हुनाले विकल्पका रुपमा अग्र्यानिक प्लेट उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो संचालक माधवप्रसाद रिजाल बताउनुहुन्छ । कृषिमा आधारित उधोग भएको हुनाले डेढ महिना भारत, तमिलनाडु राज्यको प्लेट बनाउने उद्योगमै बसेर मेसिन चलाउने, प्लेट बनाउने, मेसिन जोड्नेलगायतका सम्पूर्ण काम सिकेपछि आफूले मेसिनरी सामान खरिद गरेर नेपालमा पहिलोपटक ल्याएको रिजाल बताउछन । उहाँको यो व्यवसायबाट ४ जनाले नियमित रोजगारीसमेत पाएका छन । उद्योगबाट दैनिक १२ प्रकारका प्लेट उत्पादन भइरहेको छ । खेर गएको सुपारीको खाबटा संकलन गरी घाममा सुकाएर प्रशोधनपश्चात मेसिनबाट भिभिन्न आकारमा प्लेट र दुना टपरी बनाउने गरिन्छ । प्रयोग पश्चात डिस्पोज गर्न पनि सहज हुने भएकाले यसले वातावरणमा पनि असर नगर्ने अर्गानीक दुना टपरी उद्योगका संचालक रिजालले बताउनुभयो । यस्ता उत्पादनको बजारको भने कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । यो उत्पादन स्थानीय बजारदेखि काठमाडौंसम्म पुग्ने गर्दछ । यो व्यवसायले सुपारी खेति गर्ने किसानलाई समेत थप सहयोग पुगेको पाईन्छ । जयपुर झापाका स्थानीय सुपारी किसान धर्मानन्द सुबेदीले खेर खाएको खपटाबाट बनाएका केमिकल रहित अर्गानिक बस्तु निर्माणले स्वास्थ्यको दृष्टिकोणले उपयुक्त रहेको बताउनुभयो । पछिल्लो समय देशमा केही हुन्न भनेर विदेशतिर भौतारिने प्रचलन बढेको छ । तर आफ्नै गाउँमा खेर गैरहेका सामग्री प्रयोगले मानिसलाई मनग्गे आम्दानी दिन सकिन्छ भन्ने उदाहरुणका रुपमा लिन सकिन्छ बुद्धशान्ति गाउँपालिका २ का माधवप्रसाद घिमिरेको कामलाई । माघवप्रसादको यो कामलाई एउटा राम्रो उदाहरणको रुपमा लिन सकिन्छ । बैदेशिक रोजगारमा जानुभन्दा आफ्नै गाउँमा बसेर स्वरोजगार हुँदै थप रोजगारी सिर्जना गर्ने झापाका यी किसानबाट प्रेरणा लिनु जरुरी छ ।